logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कर्णालीमा देउवा पक्षका तीन जिल्लामा अधिवेशन सम्पन्न


  • जन आकाश
  • सोमबार, असोज २६ २०८३

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कर्णाली प्रदेशका मुगु, जुम्ला र हुम्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। देउवा पक्षका नेता दमनबहादुर शाहीका अनुसार कालिकोटमा मंगलबार जिल्ला अधिवेशन हुने भएको छ भने अन्य जिल्लामा वडा, पालिका तथा क्षेत्रीय अधिवेशनका काम भइरहेका छन्। कात्तिक १५ गतेसम्म निर्धारित कार्यतालिकाभित्रै सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी रहेको उनले बताए।



सम्पन्न अधिवेशनबाट मुगु जिल्ला सभापतिमा तिलक मल्ल, जुम्लामा नेत्रकला शाही र हुम्लामा सूर्यबहादुर शाही निर्वाचित भएका छन्। मुगुमा पूर्वमन्त्री ऐनबहादुर शाहीले देउवा पक्षको नेतृत्व गरिरहेका छन्। त्यहाँ उपसभापतिमा रमेशकुमार मल्ल र रामबहादुर रावत, सचिवमा कुबेरजङ शाही र हरि रावल, कोषाध्यक्षमा धर्मेन्द्र शाही तथा सहसचिवमा जङ्गबहादुर ऐडी र शैलेन्द्र मल्ल निर्वाचित भएका छन्।

जुम्लामा नेत्रकला शाही देउवा पक्षबाट सभापतिमा निर्वाचित भएकी हुन्। त्यस्तै, हुम्लामा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही निकट मानिने सूर्यबहादुर शाही देउवा पक्षबाट सभापतिमा निर्वाचित भएका छन्। जीवनबहादुर पछिल्लो समय गगन थापा पक्षतर्फ खुलेका छन्।

कर्णालीमा यसअघि देउवा पक्ष बलियो मानिँदै आएको थियो। तर पछिल्लो समय पूर्णबहादुर खड्काको समूहका अधिकांश नेता तथा कार्यकर्ता गगन थापा पक्षतर्फ खुलेपछि प्रदेशको कांग्रेस राजनीतिमा शक्ति समीकरण फेरिँदै गएको छ। यसैबीच, यसअघि शेखर कोइराला पक्षमा रहेका कालिकोटका भूपेन्द्रजङ शाही देउवा पक्षतर्फ खुलेका छन्। दैलेखका नारायण रेग्मी पनि देउवा पक्षमा लागेका छन्।कर्णालीका विभिन्न जिल्लामा अधिवेशन प्रक्रिया अघि बढिरहँदा नेपाली कांग्रेसभित्रको समूहगत प्रतिस्पर्धा थप रोचक बनेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend