जन आकाश
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रहरी निरीक्षकहरूलाई राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट टाढा रहेर निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्न निर्देशन दिएका छन्।
सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान, प्रचलित कानुन र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी काम गर्न प्रहरी अधिकृतहरूलाई आग्रह गरेका हुन्।
उनले नेपाल प्रहरीको छवि उच्च राख्न इमानदारी, अनुशासन र नैतिकता महत्वपूर्ण आधार भएको बताए। करिब १६ महिनाको तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरूलाई बधाई दिँदै उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे।
प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्दा निष्ठा, इमानदारी, जवाफदेहिता र पेशागत मर्यादालाई प्राथमिकतामा राख्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिए।
प्रहरी संगठनलाई आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले संगठनको प्रोटोकलविपरीतका गतिविधि तथा व्यक्तिगत स्वार्थ र अनुचित प्रभावबाट टाढा रही निर्भीकताका साथ जिम्मेवारी पूरा गर्न निर्देशन दिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend