जन आकाश
काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार आएको बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, विशालनगरमा ठूलो क्षति पुर्याएको छ। बाढीले ७२ घरधुरी प्रभावित बनाउनुका साथै गोरखाको आरुघाट र धादिङको सल्यानटार जोड्ने पक्की पुलसमेत बगाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढीबाट ५८ घरधुरी पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १४ घरधुरीमा आंशिक क्षति पुगेको छ। बाढीका कारण कुल ३०८ जना प्रभावित भएका छन्।
प्रारम्भिक विवरणअनुसार सिरिङ्गे हिमालमा हिमपहिरो गएपछि स्थानीय उइनगुलुङ खोला थुनिएको र त्यसपछि बूढीगण्डकी नदीमा बाढी आएको हो। बाढीले आरुघाट गाउँपालिका–९ नयाँपुलबाट त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार जोड्ने पक्की पुल बगाएको प्रहरीले जनाएको छ।
बाढीमा फसेका ६५ वर्षीय जितबहादुर माझीलाई प्रहरीले सकुशल उद्धार गरेको छ। नदी तटीय क्षेत्रका बस्ती जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
बाढीबाट मानवीय तथा चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काको कमान्डमा ४५ जनाको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।
प्रभावितमध्ये ३५ जना त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित चुलीदेवी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी आश्रयस्थलमा बसिरहेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend