जन आकाश
काठमाडौं । दसैँ नजिकिँदै गर्दा काठमाडौंमा खाना पकाउने ग्यासको अभाव र उपभोक्ताको सास्ती उस्तै देखिएको छ। ग्यास लिन सोमबार बिहानैदेखि काठमाडौंको सिफलमा उपभोक्ताहरूको लामो लाइन लागेको छ।
बिहान ४–५ बजेदेखि नै ग्यास लिन लाइनमा बसेका उपभोक्ताहरू मध्याह्न १२ बजेपछि मात्र ग्यास वितरण सुरु भएपछि आफ्नो पालो पर्खिरहेका थिए। सिफलमा करिब पाँच सय ग्यास सिलिन्डर लाइनमा राखिएको थियो। ग्यास बोकेको ट्रक आएपछि वितरण सुरु गरिएको हो।
दसैँमा ग्यासको अभाव हुन नदिन नेपाल एलपी ग्यास उद्योगको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आइतबारदेखि ग्यास वितरण सुरु गरिएको छ। यस व्यवस्थाअन्तर्गत जुनसुकै कम्पनीको खाली सिलिन्डर अतिरिक्त शुल्क नतिरी साट्न सकिने व्यवस्था गरिएको छ। यो व्यवस्था फूलपातीसम्म लागू हुने जनाइएको छ।
काठमाडौंको कलंकीस्थित श्रीकृष्ण ग्यास उद्योग, बालाजुको नेपाल ग्यास उद्योग, पेप्सीकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट ग्यास वितरण भइरहेको छ।
ग्यास वितरणका लागि बिहान ९ः३० बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ। नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा यो व्यवस्था लागू गरिएको हो।
यद्यपि, जुनसुकै कम्पनीको सिलिन्डर साट्न पाइने भनिए पनि केही उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र साट्न मानेको उपभोक्ताहरूको गुनासो छ।
दसैँ नजिकिँदै गर्दा पनि ग्यास लिन घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाले काठमाडौंवासीलाई सास्ती भएको छ। चाडपर्वका बेला सहज रूपमा ग्यास पाउनुपर्ने उपभोक्ताहरू कहिलेसम्म यस्तो झन्झट बेहोर्नुपर्ने हो भन्ने प्रश्न उठिरहेको छ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend