logo सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026
logo

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

प्रस्तावित राजदूत सुनारमाथि गम्भीर आरोप, डिपोर्टबारे अध्यागमनसँग विवरण मागिँदै


  • जन आकाश
  • सोमबार, असोज २६ २०८३

काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारलाई विगतमा जर्मनीबाट डिपोर्ट गरिएको थियो वा थिएन भन्नेबारे संसदीय सुनुवाइ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयसँग विवरण माग्ने भएको छ।



सुनारलाई जर्मनीबाट डिपोर्ट गरिएको भन्ने उजुरी परेपछि समितिले यसबारे तथ्य बुझ्न लागेको हो। उनीमाथि महिला हिंसा, धम्की तथा पूर्वप्रेम सम्बन्धमा रहेकी महिलालाई सम्बन्ध टुटेपछि पनि दुःख दिएको आरोपसमेत लागेको छ।

उजुरीकर्ताले सुनारले आफू र आफ्नो परिवारलाई धम्की दिएको तथा परिवारका सदस्यलाई अन्तरंग तस्बिर पठाएको दाबी गरेकी छन्। यस घटनामा सुनारले ललितपुर प्रहरी कार्यालयमा दुई पटक माफी मागेको उल्लेख गर्दै उजुरीकर्ताले प्रहरीमा माफी मागेको र मिलापत्र भएको भनिएका कागजातका प्रतिलिपि तथा सन्देशका स्क्रिनसटसमेत समितिमा बुझाएको बताइएको छ।

संसदीय सुनुवाइ समितिले सोमबार उजुरीकर्तालाई बोलाएर यस विषयमा गोप्य छलफल गरेको थियो। घटनाबारे थप जानकारी लिन समितिले ललितपुर प्रहरीसँग पनि विवरण माग्ने तयारी गरेको छ।

सुनारविरुद्ध अर्को उजुरीसमेत परेको छ। उक्त उजुरीमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पहिले दर्ता गराएको हाम्रो नेपाल पार्टीसँग आबद्ध रहेको दाबी गरिएको छ।

राजदूत नियुक्त हुने व्यक्ति राजनीतिक दलसँग आबद्ध हुन नहुने जिकिर गर्दै उजुरीकर्ताले सुनारको नियुक्तिमाथि प्रश्न उठाएका छन्। प्रमाणका रूपमा हाम्रो नेपाल पार्टीको केन्द्रीय समितिको सूचीसमेत बुझाइएको बताइएको छ।

त्यस्तै, उजुरीमा सांसद खगेन्द्र सुनार र प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि विभिन्न व्यक्तिबाट रकम उठाउने तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका क्रममा ३३ लाख रुपैयाँ लिएको आरोपसमेत लगाइएको छ। यी आरोपको स्वतन्त्र पुष्टि भएको विवरण भने उपलब्ध छैन।

प्रस्तावित राजदूत सुनारको नियुक्ति सिफारिस गराउन स्वामी आनन्द अरूणसमेत मन्त्रालय गएको दाबी गर्दै उजुरीकर्ताले त्यससँग सम्बन्धित तस्बिर पनि बुझाएको बताइएको छ।

समितिले अध्यागमन कार्यालय, प्रहरी तथा अन्य सम्बन्धित पक्षबाट विवरण संकलन गरेपछि थप निर्णय लिनेछ। सुनारमाथि लगाइएका आरोपबारे सम्बन्धित निकायबाट हुने आधिकारिक पुष्टि र उनको प्रतिक्रिया सार्वजनिक हुन बाँकी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend