logo मंगलबार, असोज २७ २०८३ | Tuesday 13th October 2026

सांसद खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक


  • जन आकाश
  • मंगलबार, असोज २७ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ। पार्टीले केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिँदै सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ।



पार्टीका महामन्त्री विपिन आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा सुनारसँग सम्बन्धित प्रकाशित समाचार, सार्वजनिक श्रव्य सामग्री तथा उनीमाथि उठेका गम्भीर प्रश्नप्रति पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ।

विज्ञप्तिअनुसार महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोप गम्भीर र संवेदनशील छन्।

विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको पार्टीले आफ्ना सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीले शून्य सहनशीलताको नीति अपनाएको पनि विज्ञप्तिमा उल्लेख छ।

सुनारमाथि लागेका आरोपको अनुसन्धानमा राज्यका सम्बन्धित निकायलाई सहयोग गर्ने प्रतिबद्धतासमेत पार्टीले जनाएको छ। यसअघि जनआस्था साप्ताहिकले सोमबार सांसद खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको दाबीसहितको अडियो सार्वजनिक गरेको थियो। उक्त विषयमा पार्टीले आन्तरिक छानबिन अघि बढाएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend