logo मंगलबार, असोज २७ २०८३ | Tuesday 13th October 2026

नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय ‘आई इन साइबर सेक्युरिटी’ अवार्ड


  • जन आकाश
  • मंगलबार, असोज २७ २०८३

काठमाडौं । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रा. लि. अन्तर्राष्ट्रियस्तरको ‘आई इन साइबर सेक्युरिटी’ अवार्डबाट सम्मानित भएको छ। सूचना प्रविधि तथा साइबर सुरक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कम्पनीलाई इन्डोनेसियाको जकार्तामा आयोजित एएफआईसीटी डिजिटल आईसीटी अवार्ड २०२६ मा उक्त सम्मान प्रदान गरिएको हो।



कम्पनीका अनुसार अक्टोबर ७, २०२६ मा जकार्तास्थित स्विसोटेल जकार्ता पीकेजी एभिन्यूमा आयोजित अवार्डसम्बन्धी कार्यक्रममा इन्साइट टेक्नोलोजीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन के. शर्माले कम्पनीको यात्रा, उपलब्धि र साइबर सुरक्षा क्षेत्रप्रतिको दृष्टिकोण प्रस्तुत गरेका थिए। कार्यक्रममा एएफआईसीटी बोर्डका प्रतिनिधि, अवार्ड विजेता तथा एसिया–ओसियाना क्षेत्रका प्रविधि विज्ञहरूको सहभागिता रहेको थियो।

एसिया तथा ओसियानाका २५ भन्दा बढी देशका राष्ट्रिय प्रविधि संघहरू आबद्ध रहेको एएफआईसीटी क्षेत्रीय सूचना तथा सञ्चार प्रविधि उद्योगसँग सम्बन्धित संस्था हो। सन् १९८४ मा स्थापित यस संस्थाले डिजिटल अर्थतन्त्रको विकास, क्षेत्रीय प्रविधि सहकार्य तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै आएको छ।

इन्साइट टेक्नोलोजीले विभिन्न संवेदनशील क्षेत्रका संस्थाहरूको साइबर सुरक्षा परीक्षण, निगरानी, जोखिम व्यवस्थापन तथा सुरक्षा प्रणाली सुदृढीकरणमा सूचना प्रविधिको प्रभावकारी प्रयोग गर्दै आएको कम्पनीले जनाएको छ।

सन् २०११ मा आईटी सोलुसन इन्टिग्रेटरका रूपमा स्थापना भएको इन्साइट टेक्नोलोजी हाल सयौँ संस्थालाई सेवा प्रदान गर्ने साइबर सुरक्षा तथा म्यानेज्ड टेक्नोलोजी सेवा प्रदायकका रूपमा विकसित भएको छ। कम्पनीले विगत १५ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ग्राहकलाई सूचना प्रविधि र साइबर सुरक्षासम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको जनाएको छ।

अवार्ड प्राप्तिपछि कम्पनीका प्रबन्ध निर्देशक तथा सीईओ सुमन के. शर्माले सम्मानलाई आफ्ना इन्जिनियर, विश्लेषक तथा कम्पनीका संवेदनशील प्रणालीको सुरक्षाका लागि विश्वास गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय ग्राहकहरूको उपलब्धिका रूपमा व्याख्या गरेका छन्।

उनले प्रत्येक संस्थाका लागि उन्नत साइबर सुरक्षा सेवा पहुँचयोग्य बनाउने उद्देश्यसहित कम्पनी स्थापना गरिएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा गौरव लागेको बताएका छन्। साथै, नेपाली प्रविधि कम्पनीहरूले विश्वव्यापी साइबर सुरक्षा क्षेत्रमा योगदान दिन सक्ने क्षमता प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्।

यस सम्मानले नेपाली प्रविधि कम्पनीहरूको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप परिचित गराउन तथा साइबर सुरक्षा क्षेत्रमा नेपालको क्षमता उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend