जन आकाश
–जयराम बिडारी
असोज २५, नुवाकोट
नेपालको इतिहासमा विशेष महत्त्व राख्ने नुवाकोट र रसुवा क्षेत्रको ऐतिहासिक, सामाजिक र सांस्कृतिक पाटाहरू समेटिएको कृति ‘ऐतिहासिक नुवाकोट (भाग–१)’ औपचारिक रूपमा सार्वजनिक भएको छ ।
लेखक तथा शोधकर्ता रामहरी आचार्यद्वारा लिखित यस ग्रन्थले वि.सं. ६२० को शिलालेखदेखि नेपाल एकीकरण, ऐतिहासिक बेत्रावती सन्धि हुँदै २०८३ सालको भोटेकोशी–त्रिशूली महाप्रलयअघिसम्मका कालखण्डलाई समेटेको छ ।
भोटेकोशीमा हालसालै गएको महाप्रलयले त्रिशूली सभ्यता, विशेषगरी बेत्रावती, त्रिशूली र देवीघाट क्षेत्रमा पुर्याएको क्षति र त्यस क्षेत्रको पहिचानलाई यस पुस्तकमा सूक्ष्म रूपले अभिलेखित गरिएको छ । महाप्रलयअघि नै पूर्णता पाइसकेको यस कृतिको महत्त्व विपत्तिको वर्तमान परिस्थितिमा अझ बढेर गएको जनाइएको छ ।
भौतिक संरचनाहरू पुनर्निर्माण गर्न सकिए पनि अभिलेखमा नराखिएको इतिहास र स्मृति हराएर जाने हुँदा, यो पुस्तक इतिहास संरक्षण र आगामी दिनको पुनर्निर्माणका लागि एक महत्त्वपूर्ण मार्गदर्शक दस्तावेज बन्ने विश्वास गरिएको छ ।
पुस्तकका प्रमुख विशेषताहरू: ऐतिहासिक कालखण्ड: वि.सं. ६२० को प्राचीन शिलालेखदेखि आधुनिक कालसम्मका घटनाक्रमको विश्लेषण । एकीकरण र सन्धि: नेपाल एकीकरणको प्रक्रिया, ऐतिहासिक बेत्रावती सन्धि र पछिल्ला सामाजिक तथा सांस्कृतिक परिदृश्यहरू
सभ्यताको अभिलेख: गत भदौ १० मा गएको महाप्रलयले भोटेकोशी–त्रिशूली क्षेत्रका अस्तित्वमा रहेका सभ्यता र पहिचानका सूक्ष्म विवरणहरूलाई पहिले नै उजागर गरिएकोले पुनर्निर्माणका क्रममा सहायकसिद्ध हुनेछ । बहुउपयोगी दस्तावेज: स्थानीय बासिन्दा, अध्येता, अनुसन्धानकर्ता, पर्यटकका साथै स्थानीय र केन्द्र सरकारका लागि समेत यो एउटा महत्त्वपूर्ण र ऐतिहासिक सन्दर्भ-सामग्री हुनेछ ।
पुस्तक सार्वजनिक भएपछि यसको खुसी र अनुभव साट्दै लेखक रामहरी आचार्यले आफ्नो अध्ययन र साधनाको यस यात्रामा जोडिने सम्पूर्ण महानुभावहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले ऐतिहासिक र विवरणात्मक रूपमा तयार पारिएको यस कृतिका कमी-कमजोरीहरूका बारेमा यथोचित प्रतिक्रियाको अपेक्षित रहेको समेत जनाएका छन् ।
आचार्यले यस ग्रन्थको प्रकाशन तथा परिचयात्मक कार्यक्रमको सफलताका लागि विशेष सहयोग पुर्याउने भैरवी माध्यमिक विद्यालय परिवार तथा प्रकाशन तथा परिचयात्मक कार्यक्रमलाई सफल पार्न सघाउने नुवाकोट युवा क्लब परिवारप्रति आभार प्रकट गरेका छन् । साथै कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण सञ्चारकर्मीहरू, शुभेच्छुकहरू र उपस्थित महानुभावहरूको सहयोग सधैँ स्मरणीय रहने समेत जनाएका छन् । उक्त कार्यक्रममा भावी पुस्ताले आफ्ना पूर्वज, उद्गम र पहिचान बारे जान्न चाहनेहरूका लागि यो पुस्तक उपयोगी हुने विश्वास गरिएको जनाइएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend