logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

दुर्गम भोटखोलाको हटिया राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडियो, किमाथांकासम्म विस्तार गर्ने तयारी


  • जन आकाश
  • बुधबार, असोज २८ २०८३

काठमाडौं । संखुवासभाको दुर्गम भोटखोला गाउँपालिका–३ स्थित हटिया राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ। राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु भएसँगै स्थानीयवासीले यसअघि प्रयोग गर्दै आएको लघु जलविद्युत्भन्दा भरपर्दो विद्युत् सेवा पाउने अपेक्षा गरिएको छ।



प्रसारण लाइन विस्तारपछि गाउँपालिका कार्यालय र हटियास्थित अस्पतालमा थ्री फेज मिटर जडान गरी विद्युत् सञ्चालनमा ल्याइएको छ। यसबाट स्वास्थ्य संस्था तथा सरकारी कार्यालयको सेवा प्रवाह सहज हुनुका साथै कुटानी–पिसानी मिल र घरेलु उद्योग सञ्चालनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दुर्गम क्षेत्रमा विद्युत् पहुँच विस्तारका लागि खटिएका प्राविधिक, कर्मचारी तथा जनप्रतिनिधिलाई धन्यवाद दिएका छन्।

यसैबीच, चीनसँग सीमा जोडिएको किमाथांकासम्म राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पुर्‍याउन नेपाल विद्युत् प्राधिकरणले ठेक्का प्रक्रिया अघि बढाएको छ। चालु आर्थिक वर्षभित्रै किमाथांकामा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति पुर्‍याउने लक्ष्य राखिएको छ।

हाल संखुवासभाका करिब ९५ प्रतिशत घरधुरी राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएका छन्। हटियामा विद्युत् सेवा विस्तार भएसँगै जिल्लाका बाँकी दुर्गम बस्तीलाई पनि राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने अभियानले थप गति लिने अपेक्षा गरिएको छ।

राष्ट्रिय प्रसारण लाइनको विस्तारले दुर्गम क्षेत्रका नागरिकको दैनिक जीवन सहज बनाउनुका साथै स्वास्थ्य सेवा, सरकारी कामकाज र स्थानीय उद्यमको विकासमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend