logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

गुणस्तरहीन खाना खुवाए चालक र होटल सञ्चालकलाई कारबाही


  • जन आकाश
  • बुधबार, असोज २८ २०८३

काठमाडौं । चाडपर्वका बेला राजमार्गमा यात्रा गर्ने यात्रुलाई गुणस्तरहीन खाना खुवाएर बिरामी पारेमा सवारी चालक तथा होटल र रेस्टुरेन्ट सञ्चालकलाई कारबाही गरिने भएको छ।



यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले आज सूचना जारी गर्दै गुणस्तरहीन खाद्यवस्तुका कारण यात्रु बिरामी भएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाएका छन्।

विभागले सार्वजनिक यातायातका यात्रुलाई खाना, नास्ता तथा खाजा उपलब्ध गराउने होटल र रेस्टुरेन्टमा सरसफाइ कायम गर्न तथा स्वच्छ र गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन निर्देशन दिएको छ।

राजमार्गका होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी खाना, झिँगा भन्केका खाद्यवस्तु तथा न्यून गुणस्तरका परिकार उपलब्ध गराइने गरेको भन्दै जनगुनासो बढेपछि विभागले यस्तो निर्देशन जारी गरेको हो।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा भएको सरोकारवाला निकायको बैठकको निर्णयअनुसार जारी सूचनामा सार्वजनिक यातायातका चालकलाई सफा, स्वच्छ र गुणस्तरीय खाना पाइने होटल तथा रेस्टुरेन्टमा मात्रै यात्रु रोक्न आग्रह गरिएको छ। सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ।

होटल तथा रेस्टुरेन्टको खाना र खाजाको गुणस्तरका कारण यात्रु बिरामी परेको गुनासो आएमा सम्बन्धित निकायले निगरानी गर्ने विभागले जनाएको छ। खाना तथा खाजाको गुणस्तर, स्वच्छता वा मूल्यमा ठगी भएको पाइएमा यात्रुहरूले तत्काल उजुरी गर्न सक्नेछन्।

त्यस्ता समस्या देखिएमा नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गर्न सकिनेछ। साथै, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा त्यसअन्तर्गतका नजिकका कार्यालयमा सम्पर्क गरी उजुरी दिन सकिने विभागले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend