जन आकाश
काठमाडौं । दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर विशेष सुरक्षा योजना लागू गरेको छ। नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन देशभर ५० हजार ४५८ जना प्रहरी परिचालन गरिने प्रहरी केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले बताएका छन्।
चाडपर्वका बेला हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा तथा शान्ति सुव्यवस्था कायम गर्न योजनाबद्ध रूपमा प्रहरी परिचालन, अनुगमन र सुरक्षा मापदण्ड कार्यान्वयन गरिने प्रहरीले जनाएको छ।
प्रवक्ता काफ्लेका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीसहित सातवटै प्रदेश प्रहरी कार्यालयअन्तर्गतका जनशक्ति सुरक्षा योजनामा परिचालन हुनेछन्।
प्रदेश तथा कार्यालयअनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत ७ हजार ६६८, कोशी प्रदेशमा ८ हजार १३३, मधेश प्रदेशमा ७ हजार २३०, बागमती प्रदेशमा ४ हजार ४९९, गण्डकी प्रदेशमा ५ हजार १८८, लुम्बिनी प्रदेशमा ७ हजार ९२१, कर्णाली प्रदेशमा ५ हजार ३१४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५०५ जना प्रहरी परिचालन गरिनेछ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरीले आधुनिक प्रविधिको समेत प्रयोग गर्ने भएको छ। सुरक्षा निगरानीका लागि सीसीटीभी तथा बडीवर्न क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुर परिचालन गरिनेछ। साथै, प्रहरी सञ्चार प्रणालीमार्फत तत्काल सूचना आदानप्रदान गर्ने र सामाजिक सञ्जालमा प्रवाह हुने डिजिटल सूचनाको निगरानी तथा विश्लेषण गरिने प्रहरीले जनाएको छ।
चाडपर्वको समयमा नागरिकको आवागमन र गतिविधिलाई सुरक्षित बनाउँदै सम्भावित जोखिम नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरी परिचालन गरी सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाइने प्रहरीले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend