जन आकाश
काठमाडौं । कोशी प्रदेशको राजधानी विराटनगरमा जारी अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दोहोरो कर प्रणाली हटाउन माग गरेको छ। मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले एक तहमा तिरिएको कर तथा शुल्क सबै प्रदेशमा मान्य हुने व्यवस्था गर्न माग गरेको हो।
महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सातै प्रदेशबीच आर्थिक सहकार्य बढाउन दोहोरो कर प्रणाली खारेज गर्नुपर्ने बताएका छन्। संविधानको धारा २३६ ले एक प्रदेशबाट अर्को प्रदेशमा हुने वस्तु तथा सेवाको ओसारपसारमा अवरोध वा शुल्क लगाउन निषेध गरे पनि ढुंगा, गिट्टी, बालुवा र कबाडीलगायतका वस्तुमा दोहोरो कर तिर्नुपर्ने अवस्था रहेको उनले बताए।
एक तहमा तिरिएको शुल्कको रसिद सबै प्रदेशमा मान्य हुने व्यवस्था गर्नुपर्नेमा जोड दिँदै राउतले संघीयताको सफल कार्यान्वयनका लागि सातै प्रदेशले साझा आर्थिक नीति बनाउनुपर्ने बताए।
उनले कच्चा पदार्थ निर्यात गर्ने र प्रशोधित वस्तु महँगोमा आयात गर्ने परम्परागत प्रवृत्ति अन्त्य गरी स्थानीय उत्पादनको प्रशोधन, ब्रान्डिङ र प्याकेजिङमा जोड दिनुपर्ने बताए। कृषि, पर्यटन र उद्योगमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि नीतिगत जटिलताका कारण निजी क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उनको भनाइ छ।
राउतले प्रदेशको भौगोलिक विशेषताअनुसार विकासका प्राथमिकता निर्धारण गर्नसमेत सुझाव दिएका छन्। उनका अनुसार मधेशलाई कृषि, बागमतीलाई प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई धार्मिक पर्यटन तथा कर्णाली र सुदूरपश्चिमलाई जडीबुटी र प्राकृतिक स्रोतमा आधारित विकासमा केन्द्रित गर्न सकिन्छ। त्यसैगरी, प्रदेशहरूबीच पर्यटन सर्किट र संयुक्त पर्यटन प्याकेज निर्माण गरेर पर्यटकको बसाइ अवधि बढाउन सकिने उनले बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend