जन आकाश
काठमाडौं । प्रतिकूल मौसम, हिमपहिरो तथा त्यसपछि आएको बाढी र पहिरोका कारण गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। गोरखामा बाढीले पुल बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने म्याग्दी र नवलपरासी पूर्वमा एकतर्फी यातायात सञ्चालनमा आएको छ।
नेपाल प्रहरीका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित सिरिङ्गे हिमालमा असोज २५ गते गएको हिमपहिरोपछि उइनगुलुङ खोला थुनिएको थियो। खोला फुटेर बुढीगण्डकी नदीमा आएको बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित मोटरेबल पुल तथा आरुघाटबाट धादिङ जोड्ने नयाँपुल बगाएको छ। पुल बगाएपछि गोरखा–धादिङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसैगरी, नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो हटाएपछि कालीगण्डकी करिडोरमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। यद्यपि, उक्त सडकखण्डमा ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।
त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थित बैसरीमा पहिरो हटाएपछि बेनी–जोमसोम सडकखण्डमा पनि एकतर्फी यातायात सञ्चालनमा आएको छ।
प्रहरीले गोरखातर्फ यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा सडकको अवस्था सहज नहुँदासम्म यात्रा स्थगित गर्न आग्रह गरेको छ। साथै, प्रभावित सडकखण्डमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend