जन आकाश
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बिक्रीपछिको सेवा विस्तार गर्ने उद्देश्यले बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्याससमेत गरेको छ।
भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालन र डल्लुमा निर्माण सुरु भएसँगै नेपालमा बीवाईडीको बिक्रीपछिको सेवा सञ्जाल थप विस्तार हुने भएको छ। यसबाट ग्राहकलाई सवारीसाधनको मर्मतसम्भार, प्राविधिक सेवा तथा स्पेयर पार्ट्स उपलब्ध गराउन सहज हुने कम्पनीको विश्वास छ।
भक्तपुरमा निर्माण गरिएको नयाँ सर्भिस सेन्टर २५ हजार ७२६.६० वर्गफिट क्षेत्रफलमा फैलिएको छ। सेल्स, सर्भिस र स्पेयर पार्ट्ससम्बन्धी सुविधा एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले यसलाई ‘थ्रीएस’ सेन्टरका रूपमा विकास गरिएको हो।
सेन्टरमा आठवटा सर्भिस बे रहेका छन्। तीमध्ये पाँचवटा हाल सञ्चालनमा आएका छन् भने बाँकी तीनवटा ग्राहकको आवश्यकता बढ्दै जाँदा सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ। उक्त स्थानमा सवारीसाधन बिक्रीका लागि शोरुमसमेत चाँडै सञ्चालनमा आउने बताइएको छ।
भक्तपुरको सांस्कृतिक तथा वास्तुकलागत पहिचानबाट प्रेरित भएर डिजाइन गरिएको यस सेन्टरलाई ‘बीवाईडी हेरिटेज शोरुम एन्ड सर्भिस सेन्टर’ अवधारणाअनुसार विकास गरिएको हो। अन्तर्राष्ट्रिय ब्रान्ड मापदण्डलाई स्थानीय सांस्कृतिक सम्पदासँग जोड्दै ग्राहकलाई फरक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ।
भक्तपुरस्थित सर्भिस सेन्टरको उद्घाटन बीवाईडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी र असिस्टेन्ट जनरल म्यानेजर तथा आफ्टर सेल्स प्रमुख फेङ एरदोङले गर्नुभएको थियो।
यसै अवसरमा काठमाडौंको डल्लुमा निर्माण हुने नयाँ सर्भिस सेन्टरको शिलान्यास पनि गरिएको थियो। उक्त कार्यक्रममा बीवाईडी एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका दक्षिण एसिया क्षेत्रका आफ्टर सेल्स प्रमुख लिउ सियाओफेङसहित साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठको सहभागिता रहेको थियो।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा बिक्रीपछिको सेवा, दक्ष प्राविधिक जनशक्ति, सक्कली स्पेयर पार्ट्स तथा भरपर्दो मर्मतसम्भार सुविधाको आवश्यकता पनि बढिरहेको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै साइमेक्स इंकले सेवा पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको जनाएको छ।
भक्तपुर र डल्लुमा सेवा पूर्वाधार विस्तार गर्ने योजनाले बीवाईडीका ग्राहकलाई सवारीसाधन खरिददेखि नियमित मर्मतसम्भारसम्म सहज र व्यवस्थित सेवा उपलब्ध गराउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend