जन आकाश
काठमाडौं। नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नयाँ टीभीएस एनटर्क १५० स्कुटर सार्वजनिक गरेको छ। कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुल ग्राउन्डमा अक्टोबर १० मा आयोजित ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ कन्सर्टका क्रममा कम्पनीले स्कुटरको विशेष अनावरण गरेको हो।
संगीत, आधुनिक प्रविधि र उच्च प्रदर्शन क्षमताको संयोजन प्रस्तुत गर्दै कम्पनीले नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा एनटर्क १५० बजारमा ल्याएको जनाएको छ। स्कुटरको मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।
कार्यक्रममा जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र मिश्र र वरिष्ठ मार्केटिङ म्यानेजर करुणा पुडासैनीले संयुक्त रूपमा स्कुटरको अनावरण गर्नुभएको थियो। कार्यक्रममा स्कुटरका प्रमुख विशेषताहरू प्रस्तुत गर्नुका साथै लोमान्थाङसम्मको यात्रालाई समेटिएको विशेष भिडियोसमेत प्रदर्शन गरिएको थियो।
जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत मिश्रले नेपाली बजारमा नवीनतम प्रविधि र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धताको अर्को उपलब्धिका रूपमा एनटर्क १५० लाई प्रस्तुत गर्नुभयो। उहाँले शक्ति, प्रविधि, सुरक्षा र आकर्षक डिजाइनको संयोजनले नेपाली राइडरलाई फरक अनुभव दिने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, वरिष्ठ मार्केटिङ म्यानेजर पुडासैनीले दैनिक यात्राभन्दा फरक, रोमाञ्चक र प्रविधिमैत्री अनुभव खोज्ने युवाहरूका लागि एनटर्क १५० आकर्षक विकल्प हुने बताउनुभयो। उहाँका अनुसार स्कुटरमा शक्तिशाली इन्जिनसँगै आधुनिक सुरक्षा तथा स्मार्ट कनेक्टिभिटी सुविधाहरू समावेश गरिएका छन्।
नयाँ टीभीएस एनटर्क १५० मा १४९.७ सीसी क्षमताको तीन-भल्भ इन्जिन जडान गरिएको छ। कम्पनीका अनुसार यसले १३.२ पीएस पावर र १४.२ एनएम टर्क उत्पादन गर्छ। स्कुटरले ६.३ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने तथा यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ।
स्कुटरमा ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल एबीएस, स्ट्रिट र रेस राइडिङ मोड, हाइब्रिड टीएफटी–एलसीडी डिस्प्ले तथा स्मार्ट कनेक्टिभिटीजस्ता सुविधा उपलब्ध छन्। यी सुविधाले राइडिङलाई थप सहज, सुरक्षित र रोमाञ्चक बनाउने कम्पनीको विश्वास छ।
एनटर्क १५० स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रङमा उपलब्ध हुने जनाइएको छ। आकर्षक डिजाइन, शक्तिशाली इन्जिन र आधुनिक प्रविधिका कारण स्कुटरले नेपाली बजारमा नयाँ राइडिङ अनुभव प्रदान गर्ने अपेक्षा कम्पनीले गरेको छ।
कार्यक्रमको मुख्य आकर्षण नेपाली लोक–रक सांगीतिक समूह नेपथ्यको प्रस्तुति रहेको थियो। परम्परागत नेपाली संगीत र आधुनिक रक शैलीको संयोजनका लागि परिचित नेपथ्यले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।
रमाइलो इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित कन्सर्टमा टीभीएस एनटर्क १५० टाइटल स्पोन्सरका रूपमा सहभागी भएको थियो। संगीत, युवा पुस्ताको जीवनशैली र साहसिक यात्राको भावनालाई जोड्दै स्कुटरको अनावरणलाई विशेष बनाइएको कम्पनीले जनाएको छ।
नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले देशभरका आधिकारिक डिलर तथा सर्भिस नेटवर्कमार्फत मोटरसाइकल र स्कुटर बिक्री गर्नुका साथै बिक्रीपछिको सेवा पनि प्रदान गर्दै आएको छ। नयाँ एनटर्क १५० को सार्वजनिकसँगै कम्पनीले नेपाली ग्राहकलाई आधुनिक र प्रविधियुक्त दुईपाङ्ग्रे सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend