logo बुधबार, असोज २८ २०८३ | Wednesday 14th October 2026

काठमाडौंमा आठौँ ब्ल्याक होल नेपाल बैठक आयोजना हुँदै


  • जन आकाश
  • बुधबार, असोज २८ २०८३

 



ब्ल्याक होलको उत्पत्ति, विकास, विलय, स्पिन तथा विकिरणसम्बन्धी पछिल्लो वैज्ञानिक अनुसन्धानमा केन्द्रित आठौँ ब्ल्याक होल नेपाल बैठक ‘Many Faces of Stellar-Mass Black Holes’ काठमाडौंमा आयोजना हुने भएको छ ।

सम्मेलनमा सहभागी हुन नेपाली मूलका अन्तर्राष्ट्रिय खगोल वैज्ञानिक डा. गोपाल भट्ट अक्टोबर १२ मा काठमाडौं आउँदै हुनुहुन्छ । पोल्यान्डमा कार्यरत डा. भट्ट उच्च ऊर्जा खगोलभौतिकी, एक्टिभ ग्यालेक्टिक न्युक्लिआई (AGN), रिलेटिभिस्टिक जेट तथा गामा–रे बर्स्टलगायतका क्षेत्रमा अनुसन्धान गर्दै आउनुभएको छ । उहाँका १५० भन्दा बढी वैज्ञानिक प्रकाशन रहेको जनाइएको छ ।

डा. भट्टले सम्मेलनमा वैज्ञानिक प्रस्तुति दिनुका साथै स्थानीय आयोजक समितिका सदस्यका रूपमा पनि भूमिका निर्वाह गर्नुहुनेछ । सन् २००२ देखि आयोजना हुँदै आएको ब्ल्याक होल नेपाल बैठक यसअघि सन् २००२, २००६, २००८, २०१०, २०१३, २०१६ र २०२२ मा काठमाडौंमा आयोजना भइसकेको छ ।

अक्टोबर १२ देखि १६, २०२६ सम्म ठमेलस्थित अलोफ्ट काठमाडौं ठमेलमा हुने सम्मेलनमा विश्वका विभिन्न देशका खगोल वैज्ञानिक, खगोलभौतिकीका प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यावारिधिका शोधार्थी सहभागी हुनेछन् । सम्मेलनमा तारकीय पिण्डका ब्ल्याक होलको निर्माण तथा विकास, ब्ल्याक होलको विलय र स्पिन, एक्स–रे तथा गामा–रे विकिरण, जेट, एक्स–रे ध्रुवीकरण तथा ब्ल्याक होल बाइनरीलगायतका विषयमा नवीनतम अनुसन्धान प्रस्तुत गरिनुका साथै छलफल हुनेछ ।

विश्वस्तरीय वैज्ञानिकहरूको सहभागिताले नेपाली विद्यार्थी तथा अनुसन्धानकर्तालाई अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायसँग प्रत्यक्ष संवाद र सहकार्य गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । साथै, नेपालमा खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी अनुसन्धान, वैज्ञानिक पूर्वाधारको विकास र अन्तर्राष्ट्रिय सहकार्य विस्तारका लागि पनि यो सम्मेलन महत्त्वपूर्ण अवसर बन्न सक्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend