जन आकाश
काठमाडौं । दसैं मनाउन काठमाडौं उपत्यका छाडेर गाउँ फर्किनेहरूको लर्को लागेको छ। नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बालाजु र बल्खुलगायतका क्षेत्रमा घर फर्किने यात्रुको चहलपहल बढेको छ।
बालबालिका र झिटीगुन्टासहित घर फर्किनेहरूमा दसैंको उल्लास देखिए पनि लामो र कष्टकर यात्राको चिन्ता उत्तिकै छ। कोही सवारीसाधन रिजर्भ गरेर घर फर्किरहेका छन् भने कोही सार्वजनिक यातायातको टिकट काटेर यात्रामा निस्किएका छन्। केही यात्रु भने गन्तव्यसम्म पुग्ने सवारीसाधनको खोजीमा छन्।
बसपार्कमा टिकट काट्ने, गाडी चढ्ने र आफन्तसँग बिदाइ हुनेहरूको भीड देखिन्छ। यात्रुको चाप बढेसँगै काठमाडौंका सडक, चोक र बसपार्कमा भीडभाडसमेत बढेको छ। बसका सिट भरिभराउ छन् भने यात्रुले खचाखच भरिएका सवारीसाधन कलंकीलगायतका प्रमुख चोक पार गर्दै उपत्यकाबाहिरिइरहेका छन्।
यस वर्ष दसैंको मुख्य दिन कात्तिक ४ गते परेको छ भने फूलपाती असोज ३१ गते मनाइँदैछ। फूलपातीसम्म घर पुग्ने लक्ष्यसहित धेरैजसो नागरिकले गाउँ फर्किने तयारी गरेका छन्। त्यसैले दसैं नजिकिँदै जाँदा उपत्यका छाड्ने यात्रुको चाप थप बढ्दै गएको छ।
दसैंको रौनकसँगै घर फर्किनेहरूको व्यस्तताले काठमाडौंका सडक र बसपार्कमा चाडपर्वको माहोल देखिन थालेको छ। लामो दूरीको यात्रामा निस्किएका यात्रु भने सुरक्षित र सहज रूपमा गन्तव्यमा पुग्ने प्रतीक्षामा छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend