logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

दसैँमा भारतबाट फर्किनेको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण, छ रोगको जाँच


  • जन आकाश
  • बिहिबार, असोज २९ २०८३

काठमाडौं ।  दसैँ मनाउन भारतबाट नेपाल फर्किने नागरिकको गड्डाचौकी सीमा नाकामा स्वास्थ्य परीक्षण गरिने भएको छ। चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप बढ्ने र विभिन्न सङ्क्रामक रोग भित्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै हेल्थ डेस्कमार्फत स्वास्थ्य परीक्षण भइरहेको हो।



सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कबाट मलेरिया, क्षयरोग, एचआईभी, कोभिड–१९, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण गरिँदै आएको छ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टका अनुसार भारतबाट फर्किने नागरिकमा हुन सक्ने विभिन्न रोगको पहिचान गरी समयमै उपचार गर्न तथा सङ्क्रमण फैलिन नदिन सीमा नाकामै स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो।

दसैँ नजिकिएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपालीहरू घर फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ। भारतको उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली, पञ्जाबलगायत क्षेत्रमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किरहेका छन्।

चाडपर्वका बेला सीमा नाकामा हुने आवागमनलाई ध्यानमा राख्दै सञ्चालन गरिएको स्वास्थ्य परीक्षणले सम्भावित सङ्क्रामक रोगको समयमै पहिचान गर्न र समुदायमा सङ्क्रमण फैलिने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend