logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ


  • जन आकाश
  • बिहिबार, असोज २९ २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सकेर गएराति स्वदेश फर्किएका छन्। उनी भारतको नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन भारत गएका थिए।



भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटका क्रममा दुई देशबीचको आपसी सहयोग तथा साझा चासोका विषयमा छलफल भएको जनाइएको छ।

नयाँ दिल्लीमा आयोजित बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद् जोखिमलाई सम्बोधन गर्न ‘बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव गरेका थिए।

उनले क्षेत्रीय सहकार्यलाई सुदृढ गर्दै विपद् पूर्वतयारी, प्रतिकार्य र जोखिम न्यूनीकरणका क्षेत्रमा सदस्य राष्ट्रबीच समन्वय आवश्यक रहेको विषय उठाएका थिए।

यसैबीच, स्वदेश फर्कने क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच संक्षिप्त भेटवार्ता भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

गृहमन्त्री गुरुङ असोज २६ गते भारत भ्रमणमा गएका थिए। मन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend