logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट १ हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार


  • जन आकाश
  • बिहिबार, असोज २९ २०८३

काठमाडौं । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित उत्तरी गोरखाका विभिन्न क्षेत्रबाट एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। आइतबारदेखि बुधबारसम्म नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी उनीहरूको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन्। उद्धार गरिएकामध्ये ७० जना विदेशी नागरिक रहेको उनले बताए।



बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पुर्‍याएपछि त्यस क्षेत्रमा रहेका स्थानीय तथा पर्यटक आवतजावत गर्न नसक्ने अवस्थामा पुगेका थिए। सडक तथा पदमार्ग अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री पुर्‍याउन हेलिकोप्टर प्रयोग गर्नुपरेको शर्माले बताए।

उनका अनुसार बाढी आएको पहिलो दिन आइतबार ९६ जनाको उद्धार गरिएको थियो। सोमबार ३२१, मंगलबार १८६ र बुधबार ४४१ जनाको उद्धार गरिएको हो।

उद्धारसँगै प्रभावित क्षेत्रमा राहत वितरणको काम पनि तीव्र पारिएको छ। सरकार तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार र जेनेरेटरलगायत सामग्री वितरण भइरहेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार उद्धारका लागि प्रभावित क्षेत्रमा जाने हेलिकोप्टरले राहत सामग्री पनि लैजाने गरेका छन्। फर्किने क्रममा प्रभावित क्षेत्रमा फसेका नागरिकलाई उद्धार गरेर ल्याउने गरिएको छ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा प्रतिकार्य तथा राहत वितरणलाई तीव्रता दिएको छ।

रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालका अनुसार बाढीबाट भएको क्षतिको आकलन गर्न विज्ञ जनशक्ति परिचालन गरिएको छ। बाढीको सूचना प्राप्त हुनासाथ गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपुरका पूर्व र पश्चिम क्षेत्रमा रहेका स्वयंसेवक परिचालन गरिएको उनले बताए।

प्रभावित क्षेत्रमा गैरखाद्य राहत सामग्री पुर्‍याउने काम जारी रहेको रेडक्रसले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाली सेनासँगको समन्वयमा त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट तथा व्यक्तिगत सरसफाइका सामग्रीसहितका राहत सामग्री पठाइएको महामन्त्री खनालले जानकारी दिए।

उनका अनुसार प्रभावित क्षेत्रमा अस्पताल सञ्चालन गर्न सकिने दुईवटा ठूला टेन्टसमेत पुर्‍याइएको छ। क्षतिको थप अध्ययन र प्रभावित नागरिकलाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन रेडक्रसका स्वयंसेवक तथा विज्ञ जनशक्ति परिचालन भइरहेका छन्।

बाढीका कारण पदमार्ग र पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रसम्म पुग्न कठिनाइ भइरहेको अवस्थामा हेलिकोप्टरमार्फत उद्धार तथा राहत वितरणलाई निरन्तरता दिइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend