जन आकाश
काठमाडौं । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त १०९ किलो माछा र मासु बरामद गरी नष्ट गरिएको छ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहितको अनुगमन टोलीले बिहीबार बजार अनुगमनका क्रममा बिग्रिएको अवस्थामा माछा तथा मासु फेला पारेको हो। टोलीले ८३ किलो मासु र २६ किलो माछा नियन्त्रणमा लिएर खाल्डोमा गाडेर नष्ट गरेको उपप्रमुख संग्रौलाले जानकारी दिए।
उनका अनुसार केही पसलमा स्थायी लेखा नम्बर (प्यान) समेत नभेटिएको र पटक–पटक सुधार गर्न आग्रह गर्दा पनि व्यवसायीले अटेर गरेको पाइएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने गतिविधि रोक्न अनुगमन गरिएको र निर्देशन पालना नगर्ने व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए।
अनुगमन टोलीमा नगरपालिकाका उपप्रमुख संग्रौलासहित पशु सेवा कार्यालयका प्रमुख डा. शीतल भट्टराई, उपभोक्ता जागरण अभियान बिर्तामोडका अध्यक्ष राजकुमार ओली, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रतिनिधि तथा जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारी सहभागी थिए।
पशु सेवा कार्यालयका प्रमुख डा. भट्टराईले विगतका वर्षको तुलनामा यसपटक केही पसलमा सरसफाइमा सुधार देखिए पनि उपभोगका लागि अनुपयुक्त खाद्यवस्तु बिक्रीका लागि राख्ने समस्या कायमै रहेको बताए।
उनका अनुसार अनुगमनका क्रममा केही पसलमा कुहिएका माछा र सडेको मासु बिक्रीका लागि राखिएको पाइएको थियो। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले मापदण्डविपरीत कारोबार गर्ने व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए।
अनुगमनका क्रममा खाद्यवस्तुको गुणस्तर, पसलको सरसफाइ, माछा तथा मासु भण्डारण गर्ने तरिका र व्यवसाय सञ्चालनका लागि आवश्यक कागजातको अवस्थासमेत जाँच गरिएको थियो।
माछा तथा मासु छिटो बिग्रन सक्ने खाद्यवस्तु भएकाले उचित तापक्रममा भण्डारण र स्वच्छता कायम नगर्दा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। त्यसैले नगरपालिकाले व्यवसायीलाई खाद्यवस्तुको गुणस्तर तथा सरसफाइसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend