जन आकाश
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। असोज २९ गते बिहीबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न सभाले सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीका अनुसार उक्त लाभांशमा करसमेत समावेश छ। आर्थिक वर्ष २०८२/८३ को आषाढ मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी १२.६६ रुपैयाँ रहेको छ। त्यस्तै, वितरणयोग्य आम्दानीका आधारमा लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट स्वीकृत भएको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि हाल कायम लेखापरीक्षक एन.बी.एस.एम. एन्ड एसोसिएट्सलाई नै निरन्तरता दिने निर्णय गरेको छ।
नेपालको पुँजी बजारमा सेयर निष्कासनसम्बन्धी मर्चेन्ट बैंकिङ तथा सामूहिक लगानी कोषसम्बन्धी सेवा सुरु गर्ने अग्रणी संस्थामध्ये एक रहेको लक्ष्मी सनराइज क्यापिटलले तीन दशकभन्दा बढी समयदेखि नेपालको धितोपत्र बजारको विकास, विस्तार तथा संस्थागत सुदृढीकरणमा योगदान पुर्याउँदै आएको जनाएको छ।
कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरका छवटा बन्दमुखी र एउटा खुलामुखी गरी सातवटा सामूहिक लगानी कोष सञ्चालन गर्दै आएको छ। त्यसैगरी, एक अर्ब रुपैयाँ पुँजी भएको लक्ष्मी सस्टेनेबल इनर्जी फन्डमार्फत दिगो ऊर्जाका क्षेत्रमा लगानी गरिरहेको कम्पनीले जनाएको छ।
लक्ष्मी सनराइज क्यापिटल इम्प्याक्ट प्रिन्सिपल्स फर इम्प्याक्ट म्यानेजमेन्ट (इम्प्याक्ट प्रिन्सिपल्स) मा हस्ताक्षर गर्ने नेपालको पहिलो संस्था भएको पनि कम्पनीले जनाएको छ। सामाजिक तथा वातावरणीय प्रभावलाई ध्यानमा राख्दै पारदर्शी, अनुशासित र विश्वसनीय लगानी प्रवर्द्धन गर्ने यस पहलमा सहभागिताले दिगो तथा उत्तरदायी लगानीप्रतिको कम्पनीको प्रतिबद्धता दर्शाउने जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend