logo शुक्रबार, असोज ३० २०८३ | Friday 16th October 2026

मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ लागू, हेटौँडा–फर्पिङ सडकमा गति नियन्त्रण गरिने


  • जन आकाश
  • बिहिबार, असोज २९ २०८३

काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ।



जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि भैँसे, भीमफेदी र कुलेखानी हुँदै फर्पिङबाट काठमाडौं जाने सडकखण्डमा सञ्चालन हुने सवारीसाधनका लागि टाइम कार्ड लागू गरेको हो।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीका अनुसार निर्धारित समयभित्र सुरक्षित रूपमा गन्तव्यमा पुग्ने व्यवस्था मिलाउन तथा तीव्र गतिका कारण हुन सक्ने दुर्घटना न्यूनीकरण गर्न यो प्रणाली लागू गरिएको हो।

प्रहरीले लागू गरेको टाइम कार्डअनुसार हेटौँडादेखि भैँसेसम्म पुग्न २५ मिनेट, भैँसेदेखि भीमफेदीसम्म ३० मिनेट, भीमफेदीदेखि कुलेखानीसम्म ४० मिनेट र कुलेखानीदेखि फर्पिङसम्म पुग्न ४५ मिनेट समय निर्धारण गरिएको छ।

निर्धारित समयअनुसार सवारीसाधन सञ्चालन गर्दा चालकले अनावश्यक रूपमा तीव्र गति लिने प्रवृत्तिमा कमी आउने र दुर्घटनाको जोखिम घट्ने प्रहरीको अपेक्षा छ।

दशैँको शुभकामना व्यक्त गर्दै एसपी खत्रीले सार्वजनिक सवारीसाधनका चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, निर्धारित गतिमा मात्र सवारी चलाउन र यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्। समयमै गन्तव्यमा पुग्ने होडमा लापरबाही नगर्नसमेत उनले चालकहरूलाई सचेत गराएका छन्।

टाइम कार्ड लागू गर्ने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी श्यामबहादुर खत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी तथा सम्बन्धित प्रहरी चौकीका इन्चार्जलगायतको उपस्थिति रहेको थियो।

चाडपर्वका समयमा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले प्रहरीले चालकलाई संयमित भएर सवारी चलाउन, ट्राफिक नियमको पालना गर्न र यात्रुको जीवन सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend