logo शुक्रबार, असोज ३० २०८३ | Friday 16th October 2026

कांग्रेसको मुस्लिम क्लस्टरबाट डा. फिरदोस आलम सहमहामन्त्रीमा निर्वाचित


  • जन आकाश
  • बिहिबार, असोज २९ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट मुस्लिम क्लस्टरतर्फ सहमहामन्त्री पदमा डा. फिरदोस आलम निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी अब्दुल सत्तारलाई ६१९ मतले पराजित गर्दै सहमहामन्त्री पदमा जित हासिल गरेका हुन्।



निर्वाचनमा डा. आलमले ३ हजार ३४६ मत प्राप्त गर्दा अब्दुल सत्तारले २ हजार ७२७ मत पाए। अर्का उम्मेदवार अतहर कमाल मुसलमानले ५५७ मत प्राप्त गरे। आलमले केन्द्रीय सदस्य सत्तार र पूर्वसांसद अतहर कमाललाई पछि पार्दै पार्टीको केन्द्रीय नेतृत्वमा स्थान बनाएका हुन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित हुने आलम एक्ला सांसद हुन्। उनी रौतहट–२ बाट २९ हजार ५२८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका थिए।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका आलमले पछिल्लो निर्वाचनमा मधेस प्रदेशमा कांग्रेसको उपस्थिति कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।

डा. आलम कांग्रेसका दिवंगत नेता शेख इद्रिसका नाति तथा दिवंगत मोहम्मद आफताबका छोरा हुन्। उनले चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) अध्ययन पूरा गरेका छन्। राजनीतिमा प्रवेश गर्नुअघि उनले नेपाल प्रहरी अस्पतालमा प्रहरी निरीक्षकका रूपमा समेत काम गरेका थिए।

प्रहरी निरीक्षक पदबाट राजीनामा दिएर २०७९ सालमा राजनीतिमा प्रवेश गरेका आलमले प्रतिनिधिसभा सदस्य हुँदै पार्टीको सहमहामन्त्रीसम्मको यात्रा तय गरेका छन्। मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै कांग्रेसको केन्द्रीय नेतृत्वमा पुगेका उनको निर्वाचनलाई पार्टीभित्र समुदायगत प्रतिनिधित्वका दृष्टिले पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend