logo शुक्रबार, असोज ३० २०८३ | Friday 16th October 2026

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकियो, २३१ केन्द्रीय सदस्य निर्वाचित


  • जन आकाश
  • शुक्रबार, असोज ३० २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भएको मतगणना सम्पन्न भएको छ । असोज २३ गते रातिबाट सुरु भएको मतगणना सात दिनपछि सकिँदा विभिन्न क्लस्टरबाट २३१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।



असोज १८ गतेदेखि काठमाडौंमा सुरु भएको महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ । त्यसमध्ये २३१ जना निर्वाचित हुने र बाँकी ६६ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ । महाधिवेशन प्रतिनिधिहरूले विभिन्न पदका लागि २३ वटा मतपत्रमार्फत मतदान गरेका थिए ।

यसपटक विधान संशोधन गरी पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाइएको छ । साथै, समावेशितालाई प्राथमिकता दिँदै उपसभापति र महामन्त्री पदमा समेत समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको छ ।

नयाँ विधानअनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् । खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य निर्वाचित हुँदा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन् ।

महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् । महिलाबाट एक जना महामन्त्री रहने व्यवस्थाअनुसार डा. डिला संग्रौला पनि महामन्त्रीमा निर्वाचित भएकी छन् ।

त्यस्तै, १५ सहमहामन्त्री रहने व्यवस्थाअनुसार ११ जना विभिन्न समावेशी समूहबाट निर्वाचित भएका छन् भने बाँकी चार जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

निर्वाचित सहमहामन्त्रीमा खुलातर्फ रामहरि खतिवडा र अजयबाबु सिवाकोटी, खस–आर्यतर्फ मनोजमणि आचार्य, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, दलिततर्फ प्रकाश रसाइली स्नेही, महिलातर्फ प्रतिमा गौतम, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही, मुस्लिमतर्फ डा. फिरदोस आलम, मधेसीतर्फ अजयकुमार चौरसिया, थारूतर्फ योगेन्द्र चौधरी तथा अल्पसंख्यक र अपांगता समूहबाट आङ्गेलु शेर्पा रहेका छन् ।

सभापति थापाले पाए ९३.८८ प्रतिशत मत

महाधिवेशनमा सभापति गगनकुमार थापाले सबैभन्दा बढी मत प्राप्त गरेका छन् कुल सात हजार ३९ मत खसेकोमा थापाले ६ हजार ५८४ मत प्राप्त गरेका थिए यो कुल मतको ९३.८८ प्रतिशत हो ।

उपसभापतिमध्ये चन्द्र भण्डारीले सबैभन्दा बढी तीन हजार ७३५ मत प्राप्त गरेका छन् । महामन्त्रीतर्फ प्रदीप पौडेल चार हजार १९४ मतसहित सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार बनेका छन् । त्यस्तै, महिला सहमहामन्त्री प्रतिमा गौतमले पाँच हजार ११६ मत प्राप्त गरेकी छन् ।

खुलातर्फ निर्वाचित हुने ४५ जना केन्द्रीय सदस्यमध्ये ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।

संशोधित विधानअनुसार ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । त्यस्तै, पेसागत तथा विषयगत क्षेत्रबाट सात जना र जनसम्पर्क समितिबाट सात जना केन्द्रीय सदस्य चयन भएका छन् ।

केन्द्रीय सदस्यमा पिछडिएको क्षेत्रबाट दुई जना तथा अल्पसंख्यक, अपांगता, प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्व प्रभावित परिवारबाट एक–एक जना निर्वाचित भएका छन् । काठमाडौं उपत्यकाबाट पनि दुई जना केन्द्रीय सदस्य चयन भएका छन् ।

नयाँ कार्यसमितिमा समावेशी प्रतिनिधित्व, युवा सहभागिता र विभिन्न क्षेत्रको प्रतिनिधित्वलाई समेट्ने व्यवस्था गरिएको छ । अब सभापतिले मनोनीत गर्ने ६६ सदस्यसमेत चयन भएपछि कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमितिले पूर्णता पाउनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend