जन आकाश
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रहरीलाई आगामी दिनमा आउन सक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले प्रहरीको क्षमता अभिवृद्धिका लागि नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम तथा पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।
७१औँ प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले जनताको सेवामा सधैँ अग्रभागमा खटिने प्रहरी संगठनलाई समयानुकूल, सक्षम र प्रविधिमैत्री बनाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिएका छन् ।
उनले कर्तव्य पालनाका क्रममा हालैको भोटेकोशी–त्रिशूली विपद् तथा विभिन्न कालखण्डमा ज्यान गुमाएका अमर प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अशक्त प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
‘विपद्मा सारथी, सङ्कटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औँ प्रहरी दिवस मनाइरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले कार्यक्रममा विमोचन हुने ‘पुलिस मिरर–२०८३’ ले नेपाल प्रहरीको इतिहास र वर्तमानलाई भावी पुस्तासँग जोड्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले पछिल्लो समय बढ्दै गएको वित्तीय तथा साइबर अपराधको रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको बताएका छन् ।
यसका लागि नेपाल प्रहरीको सहकार्यमा नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवा प्रदायक र डिजिटल वालेट सञ्चालकलाई एकै ठाउँमा ल्याएर नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था मिलाइँदै गरेको उनले जानकारी दिएका छन् ।
त्यस्तै, अपराध नियन्त्रण र अनुसन्धानलाई थप प्रभावकारी बनाउन कृत्रिम बुद्धिमत्ता (एआई), ‘एरियल सेक्युरिटी एण्ड सपोर्ट युनिट’ तथा ‘इन्टिग्रेटेड एन्टिस्काम सेन्टर’ स्थापना गर्ने तयारी भइरहेको पनि प्रधानमन्त्री शाहले बताएका छन् ।
उनले नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, प्रविधि विस्तार तथा पूर्वाधार निर्माणमा सहयोग पुर्याउने मित्रराष्ट्र र अन्तर्राष्ट्रिय विकास साझेदारप्रति धन्यवाद व्यक्त गरेका छन् ।
‘नेपालको आन्तरिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरी निरन्तर खटिरहेको छ। राष्ट्रसेवकको असली परीक्षा सङ्कटका बेला हुन्छ। सङ्कटको घडीमा हाम्रो धैर्यता, सही निर्णय र कुशल कार्यसम्पादनले नै जुनसुकै सङ्कट टार्न मद्दत गर्दछ,’ प्रधानमन्त्री शाहको शुभकामना सन्देशमा उल्लेख छ ।
कार्यक्रममा प्रधानमन्त्री शाहले पठाएको शुभकामना सन्देश प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वाचन गरेर सुनाएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend