जन आकाश
काठमाडौं । सरकारले बुढीगण्डकी बाढी तथा पहिरोबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले गोरखा, धादिङ र बागलुङ जिल्लाका अति प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिएका छन् ।
मन्त्री तिमल्सिनाका अनुसार गोरखा जिल्लाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका तथा धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर १ र २ लाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
त्यस्तै, २०८३ असोज ८ देखि ११ गतेसम्म भएको वर्षाका कारण सिर्जित बाढी तथा पहिरोबाट अति प्रभावित बागलुङ जिल्लाका गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई समेत तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
सरकारले बाढी तथा पहिरोबाट क्षतिग्रस्त निजी आवास भएका प्रभावित परिवारलाई अस्थायी बसोबास व्यवस्थापनका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
निर्णयअनुसार होल्डिङ सेन्टरमा नबसी निजी व्यवस्थापनमा अस्थायी बसोबास गर्न चाहने प्रभावित परिवारलाई वैकल्पिक आवासको व्यवस्था नभएसम्म बढीमा छ महिनाका लागि राहत रकम उपलब्ध गराइनेछ ।
चार जनासम्म सदस्य भएका परिवारलाई बसोबास र जीविकोपार्जनका लागि प्रतिपरिवार प्रतिमहिना १५ हजार रुपैयाँ प्रदान गरिनेछ । चार जनाभन्दा बढी सदस्य भएका परिवारका हकमा प्रत्येक थप सदस्यका लागि प्रतिमहिना थप दुई हजार रुपैयाँ उपलब्ध गराइने निर्णयमा उल्लेख छ ।
सरकारको यस निर्णयबाट बाढी तथा पहिरोका कारण घरबार गुमाएका प्रभावित परिवारलाई अस्थायी आवासको व्यवस्था गर्न र दैनिक जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend