जन आकाश
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४१८ सीट वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले यस वर्षका लागि कुल ९ हजार ६९१ सीट निर्धारण गरेको हो। यो संख्या गत शैक्षिक सत्रको तुलनामा ४१८ ले बढी हो।
सीट निर्धारणका लागि देशभरका ९० वटा शिक्षण संस्थाले स्वमूल्याङ्कन फाराम भरेर सीट माग गरेका थिए। विज्ञान तथा प्रविधिसहितको टोलीले गरेको अनुगमन प्रतिवेदनका आधारमा तीमध्ये ८४ वटा शिक्षण संस्थाका लागि यस वर्ष सीट निर्धारण गरिएको आयोगले जनाएको छ।
आयोगका सदस्यसचिव हरिप्रसाद निरौलाका अनुसार एमबीबीएसतर्फ गत वर्षको तुलनामा ११० सीट वृद्धि गरिएको छ। जसअन्तर्गत सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएस अध्ययनका लागि ५० सीट पाएको छ।
त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सीट थप गरिएको छ।
निरौलाका अनुसार निजी मेडिकल कलेजमा भने यस वर्ष एमबीबीएसका सीट वृद्धि गरिएको छैन। एमबीबीएसतर्फ थपिएका सबै सीट सरकारी शैक्षिक संस्थाका लागि निर्धारण गरिएको उनले बताए।
एमबीबीएसबाहेक अन्य चिकित्सा शिक्षा कार्यक्रमका सीट पनि वृद्धि गरिएको छ। बीएससी नर्सिङतर्फ गत वर्षको तुलनामा २१० सीट थप गरिएको छ भने बीएमएसमा ९८ सीट वृद्धि गरिएको छ।
चिकित्सा शिक्षाका विभिन्न कार्यक्रमका लागि सीट संख्या वृद्धि भएसँगै यस वर्ष विद्यार्थीलाई अध्ययनका लागि थप अवसर उपलब्ध हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend