जन आकाश
काठमाडौं । ब्रह्माकुमारीजले पूर्व विश्व प्रशासकीय प्रमुख राजयोगिनी तपस्वीरूप दादी प्रकाशमणिजीको १९औँ पुण्यतिथिको अवसर पारेर दोस्रो पटक विश्वव्यापी रूपमा बृहत् रक्तदान अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत ब्रह्माकुमारीज नेपालले पनि आगामी भदौ ५ गतेदेखि देशका विभिन्न स्थानमा ‘ज्ञान, पान, योग–ध्यान, रक्तदान’ भन्ने सन्देशसहित रक्तदान तथा रक्तसंकलन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

ब्रह्माकुमारीज आध्यात्मिक संस्थाका साथै सामाजिक सेवामा समेत सक्रिय संस्था रहेको आयोजकले जनाएको छ। संस्थाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै विश्वका करिब १४० देशमा सेवा प्रदान गर्दै आएको छ। सामाजिक सेवाअन्तर्गत नशामुक्ति अभियान, प्राकृतिक विपद्मा सहयोग तथा रक्तदान र रक्तसंकलनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ।
प्राकृतिक विपद्, दुर्घटना वा विभिन्न रोग तथा उपचारका क्रममा रगत आवश्यक पर्ने व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यले रेडक्रस, अस्पताल तथा अन्य सामाजिक संस्थासँगको सहकार्यमा रक्तदान कार्यक्रम सञ्चालन गरिने ब्रह्माकुमारीज नेपालले जनाएको छ। रक्तदानको महत्वबारे जनचेतना फैलाउँदै बढीभन्दा बढी मानिसलाई रक्तदानका लागि प्रेरित गर्नु अभियानको मुख्य उद्देश्य रहेको छ।
दादी प्रकाशमणिजीको पुण्यतिथिमा रक्तदान अभियान आयोजना गर्नुको उद्देश्य उहाँले आफ्नो जीवनकालमा मानव समाज तथा विश्वका लागि पुर्याउनुभएको आध्यात्मिक र सामाजिक योगदानको स्मरण गर्नु रहेको संस्थाले जनाएको छ।
सन् १९२२ मा जन्मनुभएकी दादी प्रकाशमणिजीले १४ वर्षको उमेरदेखि नै आध्यात्मिक ज्ञानमा जीवन समर्पित गर्नुभएको थियो। उहाँले आफ्नो सम्पूर्ण जीवन मानव सेवामा समर्पित गर्नुभएको ब्रह्माकुमारीजले जनाएको छ।
दादी प्रकाशमणिजीले ब्रह्माकुमारीजमार्फत सन् १९७२ देखि विदेश सेवा सुरु गर्नुभएको थियो। सन् १९८६ मा उहाँलाई नौवटा देशबाट शान्तिदूत अवार्ड प्रदान गरिएको थियो। उहाँ संयुक्त राष्ट्रसंघमा आर्थिक मामिलासम्बन्धी सल्लाहकारसमेत रहनुभएको थियो। सन् १९९२ मा मोहनलाल सुखाडिया विश्वविद्यालय, उदयपुरले उहाँलाई डक्टरेट उपाधिबाट सम्मान गरेको जनाइएको छ।
दादी प्रकाशमणिजीको स्मृतिमा विश्वव्यापी रूपमा रक्तदान अभियान सञ्चालन गर्न थालिएको यो दोस्रो पटक हो। यसअघि गत वर्ष उहाँको १५औँ पुण्यतिथि स्मृति दिवसका अवसरमा पहिलोपटक विश्वव्यापी रक्तदान अभियान सञ्चालन गरिएको ब्रह्माकुमारीजले जनाएको छ।
यस वर्ष पनि विभिन्न स्थानमा सञ्चालन हुने रक्तदान तथा रक्तसंकलन कार्यक्रममार्फत मानव सेवाको भावना अभिवृद्धि गर्दै रक्तदानको महत्वबारे जनचेतना फैलाउने लक्ष्य राखिएको छ।
Lalitpur Blood Donation Centers
Blood donation centres Kathmandu_Bhaktapur
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend