जन आकाश
जयराम बिडारी
काठमाडौँ । नेपाली साहित्य तथा सङ्गीतका क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आउनुभएका साहित्यकार तथा गीतकार डा. ज्ञानेन्द्र गदाललाई सूचक प्रकाशन र गुञ्जनले संयुक्त रूपमा अभिनन्दन गर्ने भएका छन् । नेपाली भाषा, साहित्य, सङ्गीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा स्वदेश र प्रवास दुवै ठाउँबाट सक्रिय रहँदै आउनुभएका गदालको सिर्जनात्मक साधना र योगदानको उच्च कदर गर्दै अभिनन्दन गर्न लागिएको सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ ले बताए ।
वि.सं. २०३९ सालदेखि गीत, गजल र कविता लेखनमा सक्रिय गदालका हालसम्म करिब १५० नेपाली गीत स्वरबद्ध भई सार्वजनिक भएका छन् । उहाँका सिर्जनामा प्रेम, जीवन, प्रकृति, मानवीय संवेदना, सामाजिक चेतना र देशप्रेमका विविध सन्दर्भहरू अभिव्यक्त भएका छन् । नेपाली सङ्गीत क्षेत्रका स्थापित गायक तथा गायिकाको स्वरमा रेकर्ड भएका उहाँका गीतहरू रेडियो नेपाल, विभिन्न एफएम रेडियो तथा टेलिभिजनमार्फत प्रसारण हुँदै आएका छन् ।
इलामको फिक्कलमा जन्मिनुभएका गदाल हाल अमेरिकाको कोलोराडोमा बसोबास गर्दै आउनुभएको छ । व्यावसायिक रूपमा सूचना प्रविधि तथा वित्तीय क्षेत्रमा आबद्ध रहे पनि उहाँको साहित्यिक तथा सङ्गीतयात्रा निरन्तर अघि बढिरहेको छ । प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिसँगको सम्बन्धलाई जीवन्त राख्दै आउनुभएका गदाल विगत दुई दशकदेखि डायस्पोरामा नेपाली साहित्यको विकास र विस्तारमा सक्रिय हुनुहुन्छ । नयाँ पुस्ताका स्रष्टालाई लेखनमा प्रेरित गर्ने, साहित्यिक गतिविधि सञ्चालन गर्ने तथा नेपालका साहित्यकार र प्रवासी नेपाली स्रष्टाबीच सम्बन्ध विस्तार गर्ने कार्यमा उहाँको महत्त्वपूर्ण योगदान रहँदै आएको छ ।
सूचक प्रकाशन र गुञ्जनको संयुक्त आयोजनामा हुन लागेको उक्त अभिनन्दन समारोहले नेपाली साहित्य तथा सङ्गीत क्षेत्रमा समर्पित स्रष्टाको योगदानको सम्मान गर्नुका साथै स्वदेश र प्रवासबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन् । यस्ता कार्यक्रमले प्रवासमा रहेर नेपाली भाषा, साहित्य र सङ्गीतको उन्नयनमा योगदान पुर्याइरहेका स्रष्टालाई प्रोत्साहन गर्नुका साथै नयाँ पुस्तालाई सिर्जनात्मक यात्रामा अघि बढ्न प्रेरणा मिल्ने आयोजकले विश्वास लिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend