जन आकाश
मोहन कार्की
नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ६९ औं बर्ष भएको उपलक्ष्यमा विभिन्न कम्युनिष्ट पार्टीहरुले अस्ति ९ गते विभिन्न स्थानमा कार्यक्रम गरी मनाएका छन् । २००६ सालमा पुष्पलालको नेतृत्मा प्रवासमा नै नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो ।
त्यतिबेलाको राणशासन विरुद्ध लड्नु पर्ने प्रमुख मुद्धा बनाएर नेपाल कम्युनिष्ट आन्दोलनको शुरुवात भएपनि वर्गविहीन समाज निर्माण गर्ने विश्व सर्वहारा वर्गको मुक्ति र समाजवादी व्यवस्था यसको लक्ष्य हुनेछ भन्ने उक्त घोषणापत्रमा आज पनि पढ्न सकिन्छ । यो ६९ औं बर्ष पार गर्दा नेपालमा आठौं पटक नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार सञ्चालन भइसकेको छ भने हाल कम्युनिष्ट पार्टीको आठौं प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली हाल सत्तामा रहनुभएको छ । यो ६९ औं बर्षमा झण्डै एक दर्जनभन्दा बढी नेपाल कम्युनिष्ट पार्टीको नाममा पुच्छर र टाउको जोडेर कम्युनिष्टको विचार र सिद्धान्त बोकेको भन्ने पार्टीहरु अस्तित्वमा छन् । तर वर्तमान अवस्थासम्म आइपुग्दा नेपालको कम्युनिष्ट आन्दोलन सही बाटोमा गएको देखिँदैन । देखिन्छ के भन्दा कम्युनिष्ट पार्टीका नेतृत्व गर्ने नेताहरुले आफ्नो स्वार्थसिद्धीका लागि कार्यकर्ता जनतालाई दिनभरी बराल्ने गरी सिद्धान्त र आदर्शका कुरा गर्ने तर आफैँ एउटा सिन्को पनि नभाँच्ने सम्मको काम नगर्ने र पदको लागि पार्टी फुटाउने र आफू ठुलो बन्नुपर्ने नियत नेपालका एउटै कम्युनिष्टभित्र रहेकाहरु आज दर्जनौ पार्टीका नेता भई कोही घुम्बाराही, कोही रातोपुलतिर, कोही पेरिश डाँडातिर, कोही बागबजार तिर, कोही भक्तपुर तिर आआफ्नो मोर्चा समातेर बसेका छन् ।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना हुनुभन्दा १ वर्ष पछाडि जनवादी क्रान्ति सम्पन्न गरेको चिनले ६८ वर्षमा काम गरेर विश्वको दोश्रो धनी मुलुकमा दर्ज गराइसक्यो । उत्तर कोरियाले यो ६० वर्षमा आणविक शक्तिको रुपमा चिनाउन सफल भइसक्यो तर नेपालको कम्युनिष्ट आन्दोलनबाट पटक पटक सरकारमा गएका नेताहरुले पार्टीको सिद्धान्त, विचार समातेर राष्ट्रको हित हुने खालका कुनै पनि काम गरेको पाइँदैन ।
त्यतिमात्र होइन नेकपा माओवादीले त आमूल परिवर्तनका निम्ति २०५२ सालबाट जनयुद्ध शुरु गरेर सशस्त्र संघर्ष समेत ग¥यो झण्डै २०औं हजारको ज्यान समेत गयो तर पछिल्ला समयमा माओवादीको गतिविधि हेर्ने हो भने जनतालाई मराएर धन कमाउने धनयुद्ध गरेको जस्तो पो देखिन्छ ।
कहिले काँग्रेससँग घाँटी जोडेर सत्तामा बस्ने कहिले एमालेसँग र नेपालको कम्युनिष्ट आन्दोलन ठिक ढंगबाट नचल्ने रहेछ र कम्युनिष्ट आन्दोलनका नाममा कतैबाट उचालि मलजल गरिदिने र अराजकता मच्याउने नेपालमा कम्युनिष्टहरु हुन् भन्ने आरोप लाग्दै गरेको अवस्था छ । व्यवहारहरु हेर्दै जाँदा त्यस्तै त्यस्तै पनि देखिन्छ । कम्युनिष्ट पार्टीका नेताका छोराछोरी महंगा बोर्डिङ्ग स्कुल त्यो पनि नेपालमा नभई विदेशमा पढ्ने गरेका छन् भने कम्युनिष्ट पार्टीका नेताहरुको देखिने अलिशान महलहरु त छँदैछन् । नदेखिने ढंगबाट लगानी गरेका वित्तीय संस्था, आम्दानीमुखी क्षेत्रमा मुठीभरको साशनको विरोध गर्ने कम्युनिष्ट पार्टीका नेताहरुको नव मुठीभर साशक आफै बनेको देखिन्छ । त्यसकारण पनि कतै कम्युनिष्ट आन्दोलन सधैं नेपाललाई अस्थिरता मच्याउन भारतले प्रयोग गर्ने एउटा अस्त्र त होइन भन्ने प्रश्न उठेको छ । यसालई चिर्न सामुहिकतामा विकास, विकासका लागि पार्टी, राष्ट्रियताका लागि कम्युनिष्ट पार्टी भन्ने आधार तयार नपार्दा सम्म जनताले आशंका गर्ने ठाउँहरु रहिरहने छन् । यो वास्तविकतालाई बुझेर पूराना कम्युनिष्ट नेता भनिएकाहरुले नयाँ पुस्तालाई पूर्ण जिम्मेवारीका साथ महत्वपुर्ण भूमिकाहरुमा लानुपर्ने देखिन्छ । सधैं दाँत फुक्लेका, केश फुलेका, मानसिक रोगी, प्रेशर हाई भएका, क्यान्सर रोगबाट ग्रस्त, किड्नी फेल भएका, नमरुन्जेलसम्म सधैं पार्टी अध्यक्ष, महासचिव पद चाहिराख्ने प्रबृत्तिले नेपाल कम्युनिष्ट पार्टीको साख जोगाउन मुस्किल देखिन्छ ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसमा विभिन्न पार्टीहरुले छुटाछुटै ठाउँहरुमा गरिएका सभाहरुमा एकले अर्कोलाई विभिन्न आरोप प्रत्यारोप गदै फेरी एकठाउँमा आउन आग्रह गरेको पनि देखियो तर त्यो त्यही सभामा बोलुनजेलको लागि त्यो भन्दा वर आइसकेपछि सबै नेताले आप्नो गृहकार्य काहिँ कतै गरेको पाइएन । यस्तो अवस्थाबाट गुज्रिरहेका नेपालका कम्युनिष्ट पार्टीहरु यस्ता कम्युनिष्ट पार्टीहरुले विश्व सर्वहाराको मुक्तिको नेतृत्व गर्लान् भन्ने आम नेपाली जनतामा चासोको विषय बनेको छ । नेपाली समाजमा कम्युनिष्ट आन्दोलनप्रति जनताको जनमत सकारात्मक छ । तर यो जनमतलाई कहिल्यै पनि सदुपयोग नेपालका कम्युनिष्ट पार्टीहरुले गर्न सकेनन् उल्टै जनताहरुको जनमतलाई सत्तामा पुगेपछि पार्टीलाई विभाजन गरेर जनतामा समेत विभाजित मानसिकताको विकास गराई वर्गीय मुक्तिका लागि शुरु गरेको कम्युनिष्ट आन्दोलन भित्र जातजातको लडाई, भाषा भाषाको लडाईका रुपमा विभाजित गराउने काम कम्युनिष्ट भन्नेहरुले गराउँदै आएका छन् । नेपालको राष्ट्रिय एकतालाई भत्काएर कतै सिक्किमीकरण गराउन नेपालका कम्युनिष्ट पार्टी लागिराखेका छन् । कुनै पनि देशमा कम्युनिष्ट पार्टीका भातृ संगठन मजदुर संगठन भएका ठाउँमा राष्ट्रिय उद्योगको सुरक्षित हुने गरेका छन् तर नेपालमा मजदुर युनियनको नाममा राष्ट्रिय उद्योग, कलकारखाना बन्द भएका छन् किन अव्यवहारिक छ कम्युनिष्ट आन्दोलन, के समस्या हो ? यसको समिक्षा पनि जरुरी छ । रुसको मोन्सेभिक र बोल्सेभिक, चीनको च्याङकाईसके र माओसेतुङ्ग, हेगेलदेखि प्रचण्डपथसम्म कुरा गर्न जान्ने कम्युनिष्ट पार्टीमा नेताहरुले किन गोरखामा फल्ने सुन्तलाको बारेमा जान्दैनन्, डोल्पा र मुगुमा पाइने यार्सागुम्बाको कमिशन र फाइदा खान्छन् र त्यो अमूल्य जडिबुटी के हो र यसको सदुपयोग भविष्यमा कसरी संरक्षण गर्न सकिन्छ भन्ने जान्दैनन् । हाम्रा देश नेपालको कम्युनिष्ट नेताहरु झुस्स कार्लमाक्सले पालेको दारी हेरेर दारी पाल्ने र चियापसलमा दिनभरी गफ लगाउन सक्ने तर आफ्नै कपडा सफा बनाएर लगाउन जाँगर नभएका पनि नेपालका कम्युनिष्ट पार्टीमा नेता भइराखेका छन् यस्तो अवस्थामा जनताले प्रत्येक दिनजसो भन्ने गरेको कुरा एउटै छ कम्युनिष्ट सिद्धान्त कहाँ लागु भएको छ ? स्वभाविक रुपमा जनताले उठाएका र बोलेका कुराहरुलार्य यो ६९ औं नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर प्रकाशन गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend