जन आकाश
काठमाडौं। सरकारले व्यापारलाई सहजीकरण गर्न एकद्वार प्रणाली सुरु गर्ने भएको छ। अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।
भन्सार विभागले आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रमा एकद्वार प्रणाली सुरु गर्ने भएको हो ।
तीनवटा विभागबाट सुरु गरिने कार्यक्रम चरणवद्ध रुपमा विस्तार गरिनेछ, जसमा सरकारी र निजी क्षेत्र संलग्न रहनेछन् । भन्सार विभागका अनुसार एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र मातहतका कार्यालयहरुमा डिजिटल प्रणालीको सुरुवात हुनेछ । लाइसेन्स वा अनुमतिका लागि आयात तथा निर्यातकर्ताहरु विभाग तथा कार्यालयहरुमा पुगिराख्नु पर्नेछैन ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकद्वार प्रणाली सुरु भएपछि व्यापारका लागि सहजीकरण हुने, अनियमितता र राजस्व चुहावट नियन्त्रण हुने, कार्य सम्पादन छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कार्यान्वयनका लागि दक्ष जनशक्तिको व्यवस्था गर्न र अनुगमन प्रणालीमा विशेष ध्यान आवश्यक रहेको बताए। कृषि तथा पशुपंछी विकास मन्त्री पद्माकुमारी अर्यालले एकद्वार प्रणालीले सेवा प्रवाहलाई पारदर्शी बनाउने बताउँदै सबै निकायमा पूर्ण रुपमा लागू हुने बताइन् ।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू गरिने जानकारी दिए । अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंछी विकास मन्त्रालयबीचको समन्वय र सहकार्यमा एकद्वार प्रणाली लागू हुनेछ।
यो प्रणली लागु भएपछि ब्यवसायीले थुप्रै ठाउँमा फायल बोकेर धाउनुपर्ने झन्झट अन्त्य ह्ने छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend