logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अमेरिकी राजदूत र गृहमन्त्री वीच भेटघाट एमसिसि पास गरेकोमा राजदूतद्धारा खुशी व्याक्त


  • जन आकाश
  • बुधबार, फाल्गुन १८ २०७८

 



 

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले गृहमन्त्री बालकृष्ण खाणसँग बुधबार मन्त्रालयमा भेटघाट गरेका छन् । भेटका क्रममा राजदुत बेरीले एमसीसी पास गरेकामा नेपाललाई धन्यवाद दिएको गृह मन्त्रालयले जनाएको छ ।

 

भेटवार्ताका क्रममा संसदबाट एमसीसीका सन्दर्भमा पारित गरिएको व्याख्यात्मक घोषणाको पनि चर्चा भएको थियो । गृहमन्त्रालयका अनुसार राजदूतले व्याख्यात्मक घोषणामा आफूहरुले पहिलेदेखि भन्दै आएका विषय समेटिएको बताएका थिए ।

‘एमसीसीबारे सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणाबारे हामी पहिल्यैदेखि जानकार थियौँ । व्याख्यात्मक घोषणामा हामीले भन्दै आएका विषय समेटिएका छन्,’ राजदूत बेरीको भनाई उद्वृत गर्दै गृह मन्त्रालयले भनेको छ ।

 

राजदुत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताए ।

एमसीसी निर्णयार्थ प्रस्तुत हुने बेलामा नेपाल सरकारले अमेरिकन राजदूताबास र अन्य अमेरिकी सहयोग निकायलाई प्रदान गरेको सुरक्षा व्यवस्थाका लागि धन्यवाद दिँदै राजदूत बेरीले नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सँधै साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।

भेटमा गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन सत्तामा हुँदा मात्र नभइ प्रतिपक्षीमा हुँदा पनि दृढ र स्पष्ट विचार राख्दै आएको बताए ।

‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन दृढ हुनुहुन्थ्यो । उहाँ प्रतिपक्षमा रहँदा पनि एमसीसी पास गर्न स्पष्ट विचार राख्दै आउनुभएको थियो,’ गृहमन्त्री खाणले भेटमा भने, ‘एकातिर एमसीसी पास गर्नु थियो । अर्कोतिर सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्नु थियो । एमसीसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित हुनुहुन्थ्यो । जुन सफल भयो । सबै नेपाली जनता र नेपाल सरकार खुसी छौँ ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend