logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एनआरएनए अमेरिकाको साधारणसभा सम्पन्न

आईसीसी र एनसीसी बिच समझदारी(पत्रमा हस्ताक्षर, गिफट कार्डबाट सदस्य बन्न नपाईने


  • जन आकाश
  • शुक्रबार, असार २४ २०७९

 



 

अमेरिका, जुलाई ७ । प्रवासी नेपालीहरूको साझा सङ्गठन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाको एघारौँ साधारण सभा तथा विज्ञ भेला नर्थ क्यारोलिनाको र्यालेमा जुलाई ३ र ४ तारिखमा सम्पन्न भएको छ। नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र अध्यक्ष बुद्धि सागर सुबेदीले पानसमा बत्ती बालेर साधारण सभाको उद्घाटन गरी सधारणसभाको शुरुवात भएको थियो ।

साधारणसभामा अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) का दुई अध्यक्ष कुल आचार्य र रविना थापा, महासचिव डाक्टर केशव पौडेल, सचिव राजन त्रिपाठी, अमेरिकाज रिजनका डिआरसी राम कुमार सुवेदी,नर्थ क्यारोलाइना मोरिसभिल शहरका नगर प्रमुख टिजे काउली, सांसद कमला पन्त, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्यहरू मधु आचार्य र प्रतिमा गौतम, नेबि सङ्घका पूर्व महामन्त्री मनोज मणि आचार्य, नेपाली काङ्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, दाङ जिल्ला सभापति शंकर डाँगी, राप्रपा नेपालका केन्द्रीय सदस्य लोक तिवारी, नेपाली काँग्रेसका महासमिति सदस्य विष्णु सुवेदी , जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्बाङ्, जनसम्पर्क समितिका संस्थापक सदस्य नारायण थापा, ,एनआरएनए अभियन्ताहरू डा. यादव पण्डित, डा. रुद्र अर्याल, विश्व बराल, नेपाल अमेरिका पत्रकार संघ नेजाका महासचिव सुरज भण्डारी, पानस आइसिसीका अध्यक्ष प्रेम कुमार श्रेष्ठ, जनप्रगति शिल मञ्चका संस्थापक अध्यक्ष काशी पौडेल, उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनको, गाउँपालिका समन्वय समितिका महासचिव वंशलाल तामाङ, इन्स्टिच्युट अफ चार्टर एकाउन्टेन्ट संघ नेपालका पूर्व अध्यक्ष महेश खनाल, आइसिसीका फोकल पर्सन सुरज दाहाल, आइसिसीका सदस्यहरू,एनसीसीका पदाधिकारीहरू स्थानीय संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि उद्घाटन सत्रमा उपस्थिति रहेको थियो ।

साधारण सभाको अवसरमा आइसिसी र एनसीसी अमेरिकाको बिचमा २४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्र आइसिसीका अध्यक्ष द्वय कुल आचार्य,रविना थापा र महासचिव डा. केशव पौडेलको उपस्थितिमा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले हस्ताक्षर गरेका थिए ।

साधारण सभाले विधानमा निवर्तमान अध्यक्ष प्रमुख संरक्षक रहने प्रावधानलाई हटाएर पूर्व अध्यक्ष मध्येबाट संरक्षक राख्ने, च्याप्टर सभापतिहरूलाई एनसीसी अमेरिकाको स्वतः वोर्डअफ डाइरेक्टर हुने, गिफ्ट कार्डबाट सदस्य बन्न नपाउने व्यवस्था गरेको छ। महिला प्रतिनिधित्व बढाउनको लागि कार्यसमिति र सल्लाहकार समितिमा ३३ प्रतिशत सहभागिताको ग्यारेन्टी गर्ने व्यवस्था गरेको छ । साधारण सभा आगामी दिनमा जुलाई को अन्तिम समयतिर हुने व्यवस्था समेत विधानमा गरिएको छ।

एक वर्षको कार्यकालमा महत्त्व पूर्ण उपलब्धिको रूपमा कोभिड(१९ को समयमा अमेरिकी सेनाको हवाईजहाज मार्फत नेपालमा राहत सामग्री पठाइएको थियो। नेपालमा आपद् विपद् परेको समयमा अमेरिकी सेनाले निःशुल्क सामग्री ढुवानी गराउने व्यवस्था एउटा महत्त्वपूर्ण उपलब्धि हो। नेपालको राष्ट्रिय क्रिकेट टिमलाई प्रोत्साहन तथा अवसर प्रदान गर्ने उद्देश्यले टेक्ससको ह्युज्टनमा जुन २ र ४ मा एनआरएनए अमेरिका कप( २०२२ को आयोजना गरिएको थियो।

एनआरएनए को ओन एनसीसी ओन च्यारिटीू कार्यक्रम अन्तर्गत सल्यानको कुसाख गाउँ पालिकामा प्रसूति भवन निर्माणको कार्य सम्पन्न भएको छ। सो कार्यमा भवन निर्माण,सामाग्री खरिद र बर्थिङ्ग सेन्टरमा बस्नेलाई दुई वर्षको तलब गरी करिब ४० लाख नेपाली रुपैयाँ बराबरको सहयोग एनआरएनए अमेरिकाले गरेको छ। यस कार्यले नेपालको ग्रामीण भेगमा प्रत्यक्ष रूपमा सामाजिक सेवा पुर्‍याउन एनआरएनए अमेरिका सफल भएको छ। अमेरिका स्थित नेपाली दूतावास तथा नेपाल स्थित अमेरिकी दूतावास सँग समन्वय गर्दै नेपालीहरूलाई सहयोग पुर्‍याउने कार्यको सुरुवात यसै कार्यकालमा भएको उल्लेख छ।

विगत एक वर्षमा एनसीसी, च्याप्टर तथा टास्कफोर्सले गरेर तीन सय भन्दा बढी कार्यक्रमहरू आयोजना गरेको तथा सो दौरानमा आपदविपद परेको समयमा दुई लाख पचास हजार भन्दा बढी आर्थिक सहायता गरेको जानकारी अध्यक्ष बुद्दी सागर सुबेदीले दिएका छन।

यस कार्यकालको महत्त्वपूर्ण सफलताको रूपमा झोलामा रहेको संस्थालाई आफ्नो भवनमा सार्ने तयारीको रूपमा रहेको छ। भवन खरिद गर्नको लागि सम्भाव्य स्थलको निरीक्षण गरिएको र खरिद सम्बन्धी सम्पूर्ण कार्य आगामी एक वर्ष भित्रमा सम्पन्न गरिसक्ने लक्ष्य कार्यसमितिले राखेको छ।

 

साधारण सभाको बन्द सत्रले कानुन व्यवसायी वासु फुलारालाई प्रमुख निर्वाचन आयुक्तको रूपमा नियुक्त गरेको छ। उक्त समितिको सदस्यहरूमा विनोद सुवेदी, टुक रेग्मी ,प्रियरंजन दाहाल र खड्क उप्रेती हुनुहुन्छ साथै संघको तर्फबाट यस अघि निर्वाचन कमिटीमा रहेर योगदान गर्नुहुने प्रमुख विश्व बराल तथा सदस्यहरू वासु फुलारा, कुलमणि आचार्य,गोविन्द कुमार श्रेष्ठ र शिवराज पौडेललाई संस्थाले धन्यवाद दिएको छ ।

त्यसै गरी सभाले आन्तरिक अडिट कमिटीको प्रमुखमा केशव बराल एवं सदस्यहरूमा अमित शर्मा र गोपाल कृष्ण आचार्य नियुक्त गरेको छ ।

साधारण सभाको दोस्रो दिन विभिन्न विधामा सम्मेलन भएका थिए। अमेरिकामा रहेका विद्वानहरूको भेलाको रूपमा समेत रहेको विज्ञ भेलामा विभिन्न विधामा सोध पत्रहरू प्रस्तुत भएका थिए। नेपालको विकासमा निश्चित रूपमा अमेरिकामा रहेका विज्ञहरूद्वारा दिएका राय सुझावले परिवर्तनको मार्गमा एक आयाम थप्न यस सम्मेलनले सघाउ पुर्‍याउने सबैले विश्वास लिएका छन्।

उद्घाटन सत्रमा उपस्थित सबैलाई कन्भेनर सुमन थापाले स्वागत गर्नु भएको थियो भने महासचिव अन्जन कुमार चौलागाईं, सचिव अनुप खनाल र महिला सचिव सुनिता कँडेलले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए ।

साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्नको लागि अहोरात्र खट्नुहुने कन्भेनर सुमन थापा, को–कन्भेनर त्रय डिलु पराजुली, कुलानन्द शर्मा र वासुदेव भट्ट, कार्यसमिति तथा च्याप्टरका साथीहरू, ज्ञान सम्मेलनका संयोजक डा. माधव पाण्डे, साधारण सभा आयोजक समितिका सम्पूर्ण सदस्यहरू, नर्थ क्यारोलाइना च्याप्टर, एनसीसीका पदाधिकारी तथा बोर्ड सदस्य, सम्पूर्ण मिडियाकर्मी र पत्रकार तथा नर्थ क्यारोलाइनाबासी नेपालीहरूमा धन्यवाद प्रदान गरेको अमेरिकावाट पठाईको नोटमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend