logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कोमाबाट बाहिरिएपछि (दोस्रो जन्म) (विनोदकुमार श्रेष्ठ


  • जन आकाश
  • बिहिबार, साउन १२ २०७९

 



मानिसहरु कोही जन्मदा नै अपाङग भएर जन्मन्छन् भने कोही विविध कारणले कोही र्दुघटनामा परेर कोही रुखवाट लडेर यस्ता कारणले पनि अपाङ हुन्छन् । त्यस्तै रामेछापकै दोरम्बा सैलुङ गाउँपालिका गौश्वराकी वाडन ४ की रुखवाट लडेर अपाङ हुनुभएकी र सधै ह्वील चियरमा रहनु भएकी खेमकुमारी थापा र रामेछाप जिल्ला रामेछाप नगरपालिका वाडन ७ का विनोद श्रेष्ठ सवारी र्दुघटनामा परी अपाङ भई ह्वील चियरमा बसेको घटनाले सवै मानिस जन्मदै अपाङ हुदैनन् भन्ने पुष्टि गर्छ । 

त्यसैले अपाङग, अनाथ जो कोहीलाई समाजले माया, सेवा गर्ने गर्नुपर्छ । मेरो पहलमा दोरम्बा सैलुङ गाउँपालिकाकी खेमकुमारी थापामगरलाई ह्वील चियर २०७४ सालमा उहाको घरमा पुगेर हस्तान्तरण गरेको थिए  भने विनोद श्रेष्ठलाई उहाले लेखेका लेखलाई र मैले जानेको सुझावहरु दिएर सहयोग गर्ने गरेको छु ।

खेटमाया थापामगरले पनि विनोदले जस्तै उच्च शिक्षा हासिल गरेको भए यस्तै आफ्नो घटनामो वारेमा लेखेर समाजलाई झक्झाउने गर्नुहन्थ्यो होला तर खेटमाया शिक्षामा साक्षर हुनुहुन्न । विनोदले साहित्यमा समेत दख्खल राख्नुहुन्छ । त्यस्तै विनोदले लेखेको लेख याहा प्रस्तुत गरेका छौ ।
‘हेलो.. ओ हेलो..’मेरो आँखा खुल्ने बित्तिकै…।

‘तपाईंलाई भेटन सबैभन्दा पहिला कसलाई बोलाऊँ ? सुन्नुभएन ? हेलो… ओ हेलो।।१ कसलाई बोलाऊँ तपाईंसँग भेट्न रुभन्नुस् नरु हेलो….! ओ हेलो…

म ट्वाल्ल हेरिरहेको थिएँ । मेरो कानमा यस्तै ध्वनि गुन्जिरहेको थियो । आँखाले पूरै अन्धकार देखिरहेको थिएँ म ।

धेरै बेर झक्कझक्याए पछि मैले थाहा पाएँ, त्यो प्रश्न थियो मेरा लागि । तर प्रश्न कसका लागि हो ? किन हो रु भेउ पाउन सकिरहेको थिइनँ मैले । म अझैँ ट्वाल्ल परिरहेको थिएँ ।

धेरै बेरसम्म एउटै प्रश्न दोहोर्याइएपछि सुस्तरीभनें(‘आमालाई ।’

म कहाँ छु भन्ने मलाई थाहाँ थिएनँ । न मैले राम्ररी आँखा खोल्न नै सकिरहेको थिएँ । बोली निस्कनु त पर जाओस् । बल्लबल्ल ‘आमालाई’ भनेको थिएँ स्वासले मात्र ।

‘आमालाई’ त भनेँ तर आमा कहाँ हुनुहुन्थ्यो मलाई थाहाँ थिएनँ । म एकोहोरिएको थिएँ । ट्वाल्ल ।

‘आमा हुनुहुन्न अरु कोही ?’ प्रश्न थियो फेरी । म केही बोलिनँ ।म केही नबोले पछि मेरो फुपू छिर्नु भयो । फुपूले बोलाउनु भयो (‘बाबु ! बाबु विनोद आँखा खोल बाबु ।’ धेरै बेरसम्म उहाँले एउटै शब्द दोहोर्याउनुभयो ।

मैले बल गरेर आँखा खोलें । उहाँको धमिलो आकृति थियो । दुर्घटना पछिको यो चौथोँ दिन थियो । त्यतिबेला म दोस्रोपटक जन्मिएको थिएँ ।आमाको गर्भबाट एक पटक र दुर्घटनामा मरेर फेरी दोस्रोपटक ।म अस्पतालमा रहेछु । म अर्धहोसमा थिएँ । सत्य के हो ? भ्रम के हो ? मैले छुट्याउन सकिरहेको थिइनँ ।

चार दिनमा म पहिलोपल्ट ब्युँझेको थिएँ । बिउँझदा म उत्तानो अवस्थामा रहेछु । नर्सले मेरो हात समातिरहेकी थिइन् । बारम्बार हात फाल्ने र स्लाइन चुडाउने भएपछि मेरो हात समाउनु परेको रहेछ। शरीरभरि औषधि चढाउने अनेकन तारहरू जेलिएका थिए भने पिसाबको लागि पनि पाइप जोडिएको थियो ।

न्युरोलोजिस्ट डा. मोहनराज शर्मा बारम्बार मलाई प्रेमपूर्वक बोलाउँथे । उनको आवाज सुने पनि मेरो मुखबाट शब्द निस्किरहेको थिएन । म कहाँ छु, मलाई के भइरहेको छ ? केही थाहा थिएन । नयाँ दुनियामा अवतरण भइरहेको जस्तो महसुस भइरहेको थियो ।

म चलमलाए पछि डाक्टरको एक हूल ‘थ्यांग्स गड’ भन्दै म कहाँ आउथे । अझैसम्म डाक्टरहरू अन्तिम निष्कर्षमा पुग्न सकेका थिएनन् रे, म बाच्छुँ कि बाच्दिनँ भन्ने । मेरो होस फर्केपछि पुरानै अवस्थामा आउँछु कि आउँदिनँ भन्ने । म बेसुरमा बोलेजस्तो गर्थें । चलमलाइरहन्थें ।

मेरो टाउकोमा चोट लागेको रहेछ । मेरो ढाँड भाच्चिएको थियो । ढाँडको सघन शल्यक्रिया गर्नुपरेको रहेछ । कस्तो अवस्थाबाट गुज्रिएको वर्णन गर्न पनि गाह्रो भइरहेछ यहाँ ।

होस फर्केपछि म रिसाइरहन्थें । ‘मलाई के भएको हो ?’ सोधिरहन्थें । सामान्य उपचार पछि ठीक हुन्छ भन्थे सबैले तर म मेरो शरीरको अवस्था देखेर तेस्तो पाउँदिनथें ।

छ दिनको दिन मलाई सामान्य बेडमा सारे । तेही दिन मुखमा पहिलोपटक तरल पदार्थ परेको थियो । पानी अनि सुप । मलाई दुवै पानीजस्तो लाग्यो । मलाई केही खानै मन लागेको थिएनँ तर मलाई सबैले खुवाउनको लागि निकै प्रयास गरे ।

सात दिनको दिन पहिलो पटक मैले मुख चलाउँदै थिएँ जाउलो खानका लागि । त्यसको स्वाद कस्तो थियो म वर्णन गर्न सक्दिनँ । कोमा पछिको पहिलोपटक मुख चलाउँदा अनौठो लागेको थियो । मेरो जिब्रोले स्वाद ठ्याक्कै निक्र्योल गर्न सकेनँ । मलाई वाक्क वाक्क आउला जस्तो भयो ।

डाक्टरहरु छिनछिनमा आइरहन्थे । म डाक्टरलाई सोध्थें(‘म कहिले ठिक हुन्छु ? मैले कहिले हिन्न पाउँछु ?’डाक्टरले दिने उत्तर एउटै हुन्थ्यो(‘चाडै ठिक हुन्छौ । भर्खर त कोमाबाट बाहिर आएका छौ ।’ म अवोध शिशुझैं याचनाको स्वरमा भन्थें (‘म पहिले जस्तो त बन्छु नि डाक्टरसाप् ?’

‘अवस्य । अब छिट्टै निको हुन्छौ ।’डाक्टर उही उत्तर दोहोर्याउँथे ।

बिहान, दिउँसो र बेलुकी खानुपर्ने औषधि अनेक प्रकारका थिए । अनेकन रंग र आकारका थिए । सबैऔषधि उस्तै लाग्थ्यो । जबर्जस्ती आँखा चिम्म गरेर निल्नुको विकल्प थिएन । किनकि मलाई बाँचेर पहिलेजस्तै हुनु थियो ।

मलाई आफ्नो हाल देखेर अचम्म लागेन । किनकि छेउका अरू बिरामी पनि मेरैजस्तो हालमा थिए । कोहीको हात बाँधिएको थियो, कोहीको खुट्टा । कसैको शरीर पट्टीले छोपिएको थियो । कसैको शरीर तारहरूले जेलिएका थिए । तर म थोरै फरकमा थिए । मेरा कम्बर भन्दा मुनीको भाग पनि चलिरहेको थिएन ।

म आफैले आफैलाई हेर्ने अवस्थामा पनि थिइनँ । शरीरको तानामाना तेसको लागि बाधक बनेको थियो । बाहिरबाट शरीर छाम्दा शरीरको हड्डी कुन कता कस्तो अवस्थामा छ ठ्याक्कै थाहा हुन्थ्यो । खुट्टामा नली हाड मात्रै थियो । तिग्राको मासु वृद्ध मान्छेको जस्तो लत्रिएको थियो । कंकालबाहिर छाला टाँसेजस्तो थियो कम्बर भन्दा मुनीको भाग । मासु एकातिर हड्डि एकातिर । न छोएको नै थाहाँ हुने ।

मलाई भेट्न आउने क्रम सुरु हुन भयो । आफन्तहरुको घुइँचो लाग्न थाल्यो । अफिसतिरका पनि आए । जसलाई देख्थें, चिनेको जस्तो लाग्थ्यो । भेटेको जस्तो लाग्थ्यो । तर नाम भने बिर्सन्थें । स्मरणशक्ति निकै कमजोर भएको थियो । जो आए पनि एउटै कुरा सोध्थे(‘कस्तो छ ?’ मैले दिने उत्तर पनि एउटै हुन्थ्योटाउको हल्लाएर सङ्केतको भरमा (‘ठीकै छु । मरेर बाँचेँ ।’

कोहीकोही नजिकै आएररु चिनिस् भनेर सोध्थे । म सम्झिन हर प्रयत्न गर्थें । केही मिल्थे, केही मिल्दैनथे । उनको अकृति हेर्दा देखे–जानेजस्तो लाग्थे । चिने पनि नचिने पनि म टाउँको हल्लाएर चिनेको जस्तो गर्थेँ ।

दुर्घटना पछिका दिनमा धेरै कुरा फेरिएको थियो । शरीरको । सोच्ने, बोल्ने र तर्क गर्ने तरिका । जिब्रोले थाहा पाउने स्वाद । अनि मेरो कानले सुन्ने आवाज ।

जनकपुर विद्युतप्राधिकरणको इलेक्ट्रोनिक काम सकेर काठमाडौँतिर लाग्दा म दुर्घटनामा परेको थिएँ । तेतिखेर बेलुकाको पाँच बजेको हुँदो हो । हाम्रो कारमा जम्मा तीनजना थियौँ । म, विमलसर र विमल सरको बुबा ।

म आफैँले चलाएको थिएँ कार । जनकपुरबाट काठमाडौँ आइपुग्न कति समय लाग्छ, मलाई थाहा थिएन । मलाई चिन्ता लागेको थियो, मधेसमा बलेको आगोबाट कसरी बच्ने र काठमाडौँ पुग्ने ! जनकपुरको अस्तव्यस्त सडक र बस्तीहरूबाट सूर्य अस्ताउँदै थियो । हामी समथर फाँट, गल्ली र बस्तीहरूबाट अस्ताउन लागेको सूर्यको प्रकाशसँगै अघि बढिरहेका थियौँ । बर्दिबास जङ्गलमा आइसकेपछि मैले चलाएको कार र विपरीत दिशाबाट आएको बस ठोक्किन लाग्दा मैले बचाएँ । तर मेरो कार सडक छाडेर जङ्गलतिर गयो ।

आफू बाँच्ने र अरूलाई बचाउने प्रयास गर्दागर्दै मैले चलाएको कार जङ्गलको रूखको चेपमा घुस्रन पुग्यो । मैले काठमाडौँ लगेर बनाउन भनी हालेको यूपिएसले मेरो मेरुदण्डमा नराम्ररी ठक्कर दियो । त्यसपछि के भयो मलाई थाहा भएन । म बेहोश अवस्थामा इन्तु र चिन्तु भएर ढलिरहेँछु । त्यसबेला म कसरी बाँचेँ । अरू दुईजना बाँचे कि बाँचेनन्, मलाई अत्तोपत्तो भएन ।

मलाई यो यथार्थ स्विकार्न निकै गाह्रो परेको थियो । म नचाहेको बाटो रोज्न बाध्य भइसकेको थिएँ । मेरो जीवनको गोरेटो फाटिसकेको थियो । त्यो समयको खटन थियो, मेरो होइन । त्यही एउटा दुर्घटनाले मेरो सम्पूर्ण जीवन ध्वस्त पारिदियो । जीवनयात्रा बदलिदियो ।

आज ती कुरा कल्पनाझैँ लाग्छ मलाई । तर त्यो कल्पना होइन, यो यथार्थ थियो । परिवर्तनशील यो समाजमा हरेक वस्तु परिवर्तनशील छ । मेरो सग्लो शरीर समयले खाइदियो । समयको खटनपटनमा चल्न म बाध्य भएँ । त्यही एउटा दुर्घटनाको परिणामले मेरो सम्पूर्ण जीवनडुङ्गा पल्टियो । मेरा सारा सपना चकनाचुर भए ।

एउटा दुर्घटनाले कसरी जिन्दगीको नाप र नक्सा बदलिदिन्छ ? २४ चैत्र ०७३पछिको अस्पताल बसाइमा मैले जीवनको नयाँ अध्याय देखें । जनकपुरको विद्धुत प्राधिकरणको काम सकेर काठमाडौँ अफिस फर्कने क्रममा मैले चलाएको कार सडक छाडेर वनतिर पसेको थियो । त्यसपछि जे भयो, त्यो मेरो कल्पनाबाहिरको थियो । दुर्घटनामा मसहित ३ जना थियौँ । म भनें गम्भीर घाइते भएको थिएँ । अरु २ जना सामान्य घाइते भएछन् । पछि उनीहरु आफै मलाई भेट्न आए सामान्य उपचार पछी । मलाई कसरी अस्पताल पुर्याइयो । अस्पतालमा को–को भेट्न आए ? को–को मनकारीले सहयोग गरे ? अस्पतालबाट डिस्चार्ज भएपछि मात्रै थाहा पाएँ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend