जन आकाश
कविता, मोहन कार्की
बिहानीको चिरविर चराचरीको आवाजले भन्दै छ उठ हो उठ युवाहरु हो उठ
तर मस्त निद्रामा छन् युवाहरु सायद अमेरिकामा भाडा माज्न जाने सपनामा देख्दै होलान्
मेची, कोशी, महाकाली अपिल गर्दै उफेका छन् उठ हो नेपाली उठ
नेपालीहरु मस्त निद्रामा नै छन् । सायद देशप्रति चिन्ता नभएर नै होला
बाजोमा परिणत भएका वारीहरुले बोलाउदैछन् आओ हो आओ मेरा प्यारा सजन हो
तर भुलभुलैयामा नै व्यस्त भई अरवको खाडीमा वेल्चा उचाल्ने तयारीमा होलान्
ति सीमका भ्यागुताले, बनका लामपुच्छे«ले भन्दैछन् फर्कन हो गाउले फर्क
तर सुन्दर मुस्कुराई रहने हिमाल स्वर्ग जस्तो देश छोडेर म्यान पावर कम्पनीमा लाइन बस्दै होलान्
बिहानीको सित झरिसकेको छ ताराको उज्यालो खसिसकेको छ । नेपालीहरु सुतेकै छन् ।
उनिहरु यतिकै सुतेका हैनन् । २००४ र २००६ सालमा पिएको मन्द विषले लट्टिएका हुन्।
नेपालको त्यो झरझर झर्नेृ झर्ना, बनमा चर्ने अर्ना त्यो विष पिलाउनेलाई मन परेको थिएन ।
हो त्यसैले दुधको पेडा देखाएर बिष पिलायो नेपालीहरुलाई त्यस वेलादेखि अहिलेसम्म उठ्नै दिएन ।
तुलसी मेहेर श्रेष्ठले नेपालीहरुको सपनामा नै पुगेर उठ उठ भन्छन्
उठ्दैनन् नेपालीहरु सायद जुटमिल, टायर कारखाना सधैको लागि बन्द भए जस्तै
सधैको लागि नेपाली शब्द अन्त्य गर्न लागेका पेडा पिलाउनेको योजना सफल पो भयो की कतै
मानिस जताततै देखिएपनि मनस्थिति सुतेका मात्र देखिन्छ देशमा भईरहेको छ यस्तै यस्तै ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend