logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कविता


  • जन आकाश
  • सोमबार, असार २ २०८२

याम के .पाण्डे।
म दोषी छु
म दोषी छु, ऐ समय ।
तिम्रा हरेक पल च्यात्न खोज्ने,
सम्झनाहरूको आँधीमा हराएर
फेरि आफ्नै छायाँसँग डराउने।



म दोषी छु, ऐ सपना
तिमीलाई मुटुमा राखेर पनि
आफ्नै हातले ध्वंश गर्ने,
अधुरा आकांक्षाहरूलाई
आगो लगाएर खरानी पार्ने।

म दोषी छु, ऐ प्रेम
तिमीलाई फूलजस्तै स्याहार्नुपर्ने थियो,
तर काँडाजस्तै घोचिदिएँ।
तिमीले हात बढाउँदा पनि
मैले बेवास्ता गरिदिएँ।

म दोषी छु, ऐ जिन्दगी ।
किनकि तिमीलाई जिउन सकिनँ,
साँस त लिइरहेँ तर
अर्थहीन समय बर्बाद गरिरहेँ।

म दोषी छु, ऐ आफैं
किनकि आफैंलाई बुझिनँ,
आफ्नै भावनाहरूलाई
खोल्न डराएँ।

आफ्नै सपनाहरूलाई
मार्न सिकेँ तर अब थाकें
यो दोषको भारी कहिलेसम्म बोऊँ
यो गहिराइमा कति पटक डुबूँ ।

एक दिन मलाई पनि क्षमा गर, ऐ जिन्दगी,
यो बोझ बोक्ने शक्ति अब मसँग छैन‘

न खोजीएकी तिमी
शब्दहरू चुपचाप थिए,
अक्षरहरू तन्किएनन्,
केवल समयको ओठमा
एउटा नाम जमेको थियो —
तर उच्चारण भएन।

पातहरू हल्लिए,
हावा चिच्याएन,
साँझ बगिरह्यो —
जसरी खोला पनि कहिल्यै थाक्दैन
र आकाशले केवल हेर्छ,
भेट्न खोज्दैन।

एउटा बाटो थियो,
जुन कहिल्यै खोजिएको थिएन,
तर पाइला त्यहीं मोडिन पुगे —
जसरी नदी आफैँ बगेर
किनार बनाइदिन्छ।

तिमी शब्दभित्र नअटाउने अनुभूति,
एउटा अनौठो मौनता —
जसले बिनाबोलि, सबथोक भनिसकेको हुन्छ।

तिमी नाम होइनौ,
अस्तित्व पनि होइनौ शायद,
तिमी त त्यो गन्ध हौ —
जसले आइपुगेको थाहा हुँदैन
तर एकपटक महसुस भएपछि
बिना गन्ध, जीवन अधूरो लाग्छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend