जन आकाश
याम के .पाण्डे।
म दोषी छु
म दोषी छु, ऐ समय ।
तिम्रा हरेक पल च्यात्न खोज्ने,
सम्झनाहरूको आँधीमा हराएर
फेरि आफ्नै छायाँसँग डराउने।
म दोषी छु, ऐ सपना
तिमीलाई मुटुमा राखेर पनि
आफ्नै हातले ध्वंश गर्ने,
अधुरा आकांक्षाहरूलाई
आगो लगाएर खरानी पार्ने।
म दोषी छु, ऐ प्रेम
तिमीलाई फूलजस्तै स्याहार्नुपर्ने थियो,
तर काँडाजस्तै घोचिदिएँ।
तिमीले हात बढाउँदा पनि
मैले बेवास्ता गरिदिएँ।
म दोषी छु, ऐ जिन्दगी ।
किनकि तिमीलाई जिउन सकिनँ,
साँस त लिइरहेँ तर
अर्थहीन समय बर्बाद गरिरहेँ।
म दोषी छु, ऐ आफैं
किनकि आफैंलाई बुझिनँ,
आफ्नै भावनाहरूलाई
खोल्न डराएँ।
आफ्नै सपनाहरूलाई
मार्न सिकेँ तर अब थाकें
यो दोषको भारी कहिलेसम्म बोऊँ
यो गहिराइमा कति पटक डुबूँ ।
एक दिन मलाई पनि क्षमा गर, ऐ जिन्दगी,
यो बोझ बोक्ने शक्ति अब मसँग छैन‘
न खोजीएकी तिमी
शब्दहरू चुपचाप थिए,
अक्षरहरू तन्किएनन्,
केवल समयको ओठमा
एउटा नाम जमेको थियो —
तर उच्चारण भएन।
पातहरू हल्लिए,
हावा चिच्याएन,
साँझ बगिरह्यो —
जसरी खोला पनि कहिल्यै थाक्दैन
र आकाशले केवल हेर्छ,
भेट्न खोज्दैन।
एउटा बाटो थियो,
जुन कहिल्यै खोजिएको थिएन,
तर पाइला त्यहीं मोडिन पुगे —
जसरी नदी आफैँ बगेर
किनार बनाइदिन्छ।
तिमी शब्दभित्र नअटाउने अनुभूति,
एउटा अनौठो मौनता —
जसले बिनाबोलि, सबथोक भनिसकेको हुन्छ।
तिमी नाम होइनौ,
अस्तित्व पनि होइनौ शायद,
तिमी त त्यो गन्ध हौ —
जसले आइपुगेको थाहा हुँदैन
तर एकपटक महसुस भएपछि
बिना गन्ध, जीवन अधूरो लाग्छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend