जन आकाश
तेहरान । अमेरिकी सेनाले इरानमाथि गर्दै आएको पछिल्लो शृङ्खलाको आक्रमण हाललाई सकिएको बताएको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमाथिको ‘नयाँ चरणको आक्रामक हमला पूरा गरेको’ जनाएको हो।
स्ट्रेट अफ होर्मुजबाट हुने अन्तर्राष्ट्रिय पानीजहाजको आवतजावतमा इरानले गर्दै आएको आक्रमणलाई रोक्न यस्तो कदम चालिएको सेन्टकमको भनाइ छ। यसका लागि ‘विभिन्न स्थानका दर्जनौँ निसानामा सटिक हतियार प्रहार गरिएको’ विज्ञप्तिमा उल्लेख छ।
सेन्टकमले इरानको ‘हवाई रक्षा प्रणाली, तटीय राडार स्थल, क्षेप्यास्त्र र ड्रोन क्षमता तथा साना डुङ्गाहरू’ लाई निसाना बनाएको जनाएको छ। आक्रमणमा अमेरिकी लडाकु विमान, नौसेनाका जहाज, एकतर्फी आक्रमण गर्ने हवाई ड्रोन र पहिलोपटक समुद्री ड्रोनसमेत प्रयोग गरिएको थियो।
अमेरिकी सेनाले आक्रमण सकिएको घोषणा गर्नुभन्दा केही बेरअघि मात्र इरानको दक्षिणी होर्मोज्गान प्रान्तस्थित बन्दर अब्बासमा कम्तीमा दुईवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको इरानी समाचार एजेन्सी इर्नाले जनाएको छ।
यसैबिच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी आक्रमणको जवाफ दिने क्रम सुरु गरेको छ। आईआरजीसीले पहिलो चरणअन्तर्गत जोर्डनस्थित प्रिन्स हसन हवाई अखडामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ। उक्त आक्रमणबाट त्यहाँ रहेका इन्धन भण्डार र हतियार राख्ने गोदाममा आगो लागेको बताइएको छ।
होर्मुज जलमार्गमा ट्र्याकिङ प्रणाली बन्द गरेर अवैध रूपमा यात्रा गरेको आरोपमा इरानी नौसेनाले दुईवटा जहाज रोकेपछि अमेरिकाले इरानी तटीय सैन्य अखडामा आक्रमण गरेको थियो। सोही अमेरिकी कदमको जवाफमा जोर्डनमा आक्रमण गरिएको इरानको दाबी छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend