जन आकाश
– बैकुण्ठ दाहाल
नेपालको सबैभन्दा ठूलो शक्ति प्राकृतिक स्रोत मात्र होइन, युवा जनशक्ति पनि हो। देशको विकास, उत्पादन, नवप्रवर्तन र समृद्धिको मुख्य आधार युवा नै हुन्। तर विडम्बना, आज यही युवा शक्ति रोजगारीको खोजीमा दिनहुँ हजारौँको संख्यामा विदेशिन बाध्य भइरहेको छ। गाउँहरू युवाविहीन बन्दै गएका छन्, खेतबारी बाँझिँदै गएका छन्, उद्योग–व्यवसायले दक्ष जनशक्ति पाउन सकेका छैनन्, र परिवारहरू आफ्ना सदस्यबाट टाढा बस्न विवश छन्। यस्तो अवस्थाले देशको वर्तमान मात्र होइन, भविष्यसमेत चिन्ताजनक बनाएको छ।
मैले वर्षौँदेखि विभिन्न मञ्च, छलफल, सामाजिक सञ्जाल र लेखमार्फत एउटा कुरा निरन्तर उठाउँदै आएको छु—नेपालका युवालाई आफ्नै देशमा सम्मानजनक रोजगारीको ग्यारेन्टी गरिनुपर्छ। तर समय बित्यो, सरकार फेरिए, नीति र कार्यक्रम फेरिए, तर युवाको पीडा उस्तै रह्यो। अनेकौं सरकारले रोजगारीका सपना बाँडे, तर ती सपना व्यवहारमा उतार्ने इच्छाशक्ति देखाउन सकेनन्। आफूलाई नयाँ सोचको प्रतिनिधि भन्ने वर्तमान सरकार पनि यस विषयमा अपेक्षित परिणाम दिन असफल देखिएको छ।
नेपालको शिक्षा प्रणाली आज पनि धेरै हदसम्म घोकन्ते, परीक्षा केन्द्रित र प्रमाणपत्रमुखी छ। विद्यालयदेखि विश्वविद्यालयसम्म विद्यार्थीलाई जीवनका लागि आवश्यक सीपभन्दा बढी सैद्धान्तिक ज्ञान पढाइन्छ। परिणामस्वरूप, विश्वविद्यालयबाट हजारौँ विद्यार्थी उत्तीर्ण हुन्छन्, तर उनीहरू रोजगारी वा उद्यमका लागि आवश्यक व्यावहारिक सीपबाट वञ्चित हुन्छन्। यसरी हाम्रो विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखानाजस्तै बन्दै गएको छ। यो यथार्थलाई स्वीकार गरेर सुधार नगर्ने हो भने समस्या झन् गहिरिँदै जानेछ।
मैले धेरै पहिलेदेखि विद्यालय तहदेखि नै गरिखाने शिक्षा लागू गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएको छु। त्यसबेला कतिपयले यस विचारलाई उपहास गरे, कसैले अव्यावहारिक भने, त कसैले मलाई नै पागलको संज्ञा दिए। तर आज विश्वका धेरै देशहरूले सीपमूलक, व्यावसायिक र उद्यमशील शिक्षालाई प्राथमिकता दिइरहेका छन्। समयले देखाइसकेको छ कि केवल प्रमाणपत्रले होइन, सीप र उत्पादनले राष्ट्रलाई समृद्ध बनाउँछ।
आजको आवश्यकता पाठ्यपुस्तकको भारी बोक्ने विद्यार्थी होइन, सीप सिक्ने, उत्पादन गर्ने र समस्या समाधान गर्न सक्ने युवा हो। विद्यालयमै कृषि, पशुपालन, प्रविधि, हस्तकला, पर्यटन, उद्योग, डिजिटल सीप, वित्तीय साक्षरता र उद्यमशीलताको शिक्षा अनिवार्य गरिनुपर्छ। विद्यार्थीले पढाइसँगै काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ। श्रमलाई सम्मान गर्ने समाज निर्माण गर्नुपर्छ। जब श्रमलाई सम्मान गरिन्छ, तब उत्पादन बढ्छस उत्पादन बढेपछि आयात घट्छ र आयात घटेपछि देश आर्थिक रूपमा बलियो बन्छ।
सरकारले युवालाई विदेश जानबाट रोक्ने हो भने भाषणले मात्र पुग्दैन। स्पष्ट, दीर्घकालीन र परिणाममुखी नीति आवश्यक छ। कृषि, उद्योग, पर्यटन, सूचना प्रविधि, ऊर्जा र साना तथा मझौला उद्यममा लगानी बढाउनुपर्छ। नयाँ उद्यम सुरु गर्न चाहने युवालाई सहुलियतपूर्ण ऋण, सीप तालिम, प्रविधि, बजार र परामर्शको व्यवस्था गरिनुपर्छ। उद्यम गर्ने युवालाई अनावश्यक प्रशासनिक झन्झटबाट मुक्त गरिनुपर्छ। गाउँमै उत्पादन, प्रशोधन र बजारीकरणको वातावरण बनेपछि युवा किन विदेश जान चाहन्छ ?
नेपालको विकास विदेशी अनुदान वा विप्रेषणमा मात्र टिकिरहन सक्दैन। आफ्नै माटोमा उत्पादन बढाउनैपर्छ। खेतीयोग्य जमिन बाँझो राखेर खाद्यान्न आयात गर्ने, उद्योग बन्द गरेर विदेशी सामानमा निर्भर हुने र आफ्ना युवालाई विदेशी श्रम बजारमा पठाएर समृद्धिको सपना देख्ने सोच अब परिवर्तन गर्नैपर्छ। आत्मनिर्भर अर्थतन्त्रको आधार उत्पादन हो, उत्पादनको आधार श्रम हो, र श्रमको सबैभन्दा ठूलो शक्ति युवा हुन्।
हामीले युवालाई रोजगार खोज्ने होइन, रोजगार सिर्जना गर्ने नागरिक बनाउनुपर्छ। त्यसका लागि सरकारले नीतिगत सुधार, निजी क्षेत्रसँग सहकार्य, अनुसन्धानमा लगानी, नवप्रवर्तनलाई प्रोत्साहन र स्थानीय स्रोतको उपयोगमा जोड दिनुपर्छ। प्रत्येक स्थानीय तहमा उद्यम विकास केन्द्र स्थापना गरी युवालाई व्यवसाय सुरु गर्न आवश्यक सहयोग उपलब्ध गराउन सकिन्छ। यसले गाउँमै अवसर सिर्जना गर्छ र बसाइँसराइ तथा वैदेशिक पलायन घटाउन मद्दत गर्छ।
युवाको भविष्य सुरक्षित नभएसम्म देशको भविष्य पनि सुरक्षित हुँदैन। आजको आवश्यकता युवालाई आश्वासन होइन, अवसर दिनु हो। सीप, श्रम, उत्पादन र उद्यमलाई राष्ट्रिय अभियान बनाउनु हो। शिक्षा प्रणालीलाई समयअनुकूल परिवर्तन गर्नु हो। यदि सरकारले आज पनि पुरानै ढर्रामा देश चलाइरह्यो भने भोलि गाउँमा उत्पादन गर्ने हात हुने छैनन्, उद्योग चलाउने जनशक्ति हुने छैन, र राष्ट्र निर्माण गर्ने पुस्ता विदेशमै हराउनेछ।
त्यसैले म सरकारसँग पुनः आग्रह गर्दछु—अब ढिला नगर्नुहोस्। पुरानो घोकन्ते पाठ्यक्रमलाई परिवर्तन गरेर सीप, श्रम र उद्यममा आधारित शिक्षा लागू गर्नुहोस्। युवालाई आफ्नै देशमा सम्मानजनक रोजगारी र उद्यमको वातावरण सिर्जना गर्नुहोस्। उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुहोस्। आत्मनिर्भर नेपाल निर्माण गर्ने अभियानलाई राष्ट्रिय प्राथमिकता बनाउनुहोस्।
युवा विदेश पठाएर देश समृद्ध हुँदैन। युवालाई आफ्नै माटोमा अवसर दिएर, श्रमको सम्मान गरेर, उत्पादन बढाएर र उद्यमशीलता प्रवर्द्धन गरेर मात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ। अब समय आएको छ—युवालाई देशमै रोक्ने, उत्पादन बढाउने र स्वाभिमानी, आत्मनिर्भर नेपाल बनाउने।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend