logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026
logo

बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

पुष्पा भुसाल कांग्रेसको दोस्रो महिला उपसभापति निर्विरोध निर्वाचित


  • जन आकाश
  • बुधबार, असोज २१ २०८३

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाल पार्टीको १५औँ महाधिवेशनबाट महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएकी छन्। ४७ वर्ष लामो राजनीतिक यात्रा तय गरेकी भुसाल कांग्रेसको विधान संशोधनपछि सिर्जित महिला उपसभापति पदमा निर्वाचित हुने पहिलो महिला नेतृ बनेकी हुन्।



यसअघि स्वर्गीय शैलजा आचार्य कांग्रेसको मनोनीत उपसभापति बनेकी थिइन्। भुसाल भने निर्वाचन प्रक्रियाबाट उपसभापति बन्ने पहिलो महिला नेतृ बनेकी छन्। अर्घाखाँचीमा जन्मिएकी भुसालले २०३६ सालको राजनीतिक आन्दोलनसँगै नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीति सुरु गरेकी हुन्। पञ्चायतविरोधी आन्दोलनदेखि लोकतन्त्र पुनःस्थापनासम्मका विभिन्न राजनीतिक आन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेकी छन्।

कांग्रेसका १२औँ, १३औँ र १४औँ महाधिवेशनबाट लगातार केन्द्रीय सदस्य निर्वाचित भएकी भुसालले नेपाल महिला संघको महासचिव, कांग्रेसको कानुनी सल्लाहकार समिति सदस्यलगायत जिम्मेवारी सम्हालेकी छन्।

कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी भुसालले त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गर्नुका साथै वरिष्ठ अधिवक्ताका रूपमा समेत काम गरेकी छन्। २०६४ सालको संविधानसभा निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भुसाल २०७४ सालमा समानुपातिक सांसद बनेकी थिइन्। उनले कांग्रेसको सचेतक हुँदै प्रतिनिधिसभाको उपसभामुखको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend