जन आकाश
बैकुण्ठ दाहाल
देश परिवर्तनको कुरा गर्दा हामीले धेरै वर्षदेखि विभिन्न राजनीतिक विचार, सिद्धान्त र नाराहरू सुन्दै आएका छौँ। शासन व्यवस्था परिवर्तन भए, सरकार परिवर्तन भए, नेतृत्व परिवर्तन भएस तर आम नागरिकको जीवनमा अपेक्षित परिवर्तन अझै आउन सकेको छैन। रोजगारीका लागि युवा विदेशिनुपर्ने, उत्पादनका लागि परनिर्भर हुनुपर्ने र सामान्य आवश्यकता पूरा गर्नसमेत अरूको मुख ताक्नुपर्ने अवस्था अन्त्य हुन सकेको छैन। अब प्रश्न उठ्छ—देश बनाउने वास्तविक आधार के हो ? मेरो विचारमा त्यसको उत्तर स्पष्ट छ—श्रम र श्रमदान।
श्रम र श्रमदानकै माध्यमबाट देशमा कायापलट गर्न सकिन्छ भन्ने उदाहरण पछिल्ला अभियानहरूले देखाइरहेका छन्। श्रम पिता माननीय हर्कराज राईज्यूले श्रमलाई सम्मान, उत्पादनलाई प्राथमिकता र श्रमदानलाई सामाजिक परिवर्तनको माध्यम बनाउन निरन्तर अघि सार्दै आउनुभएको अभियानले एउटा नयाँ राजनीतिक र सामाजिक सोच स्थापित गर्न खोजिरहेको छ। देश बनाउने जिम्मेवारी सरकारको मात्रै होइन, प्रत्येक नागरिकको पनि हो भन्ने सन्देश यस अभियानको मूल मर्म हो।
आज हामीले एउटा गम्भीर विषय बुझ्न आवश्यक छ। देशमा स्रोतसाधनको कमी छैन। हाम्रो माटो उर्वर छ, जलस्रोत प्रशस्त छ, वनजंगल र जडीबुटीको सम्भावना छ, पर्यटनको अपार अवसर छ। कमी छ भने त्यसलाई उत्पादनमा बदल्ने दृढ इच्छाशक्ति, श्रमप्रतिको सम्मान र सामूहिक प्रतिबद्धताको। यही ठाउँमा श्रम संस्कृतिको आवश्यकता देखिन्छ।
श्रमलाई सानो र ठूलो भनेर विभाजन गर्ने मानसिकता अब बदलिनुपर्छ। खेतमा काम गर्ने किसान, सडक बनाउने मजदुर, उद्योगमा काम गर्ने श्रमिक, व्यवसाय गर्ने उद्यमी, अनुसन्धान गर्ने वैज्ञानिक र देशका लागि नीति बनाउने नेतृत्व—सबैको श्रम राष्ट्र निर्माणका लागि उत्तिकै महत्वपूर्ण हुन्छ। श्रमको सम्मान भएको समाजले मात्र उत्पादन बढाउन सक्छ र उत्पादन बढेपछि मात्र आत्मनिर्भर अर्थतन्त्र निर्माण हुन्छ।
यही सोचलाई राजनीतिक अभियानको रूपमा अगाडि बढाउने प्रयास श्रम संस्कृति पार्टीले गरिरहेको छ। यसको केन्द्रमा रहेको विचार हो—देश परिवर्तन भाषणले मात्र होइन, कामले हुन्छ। विकास घोषणाले मात्र होइन, उत्पादनले हुन्छ। समृद्धि मागेर होइन, आफ्नै हातको श्रमबाट निर्माण गर्नुपर्छ।
आज श्रम पिता हर्कराज राईज्यूको अभियानसँग देशभरका धेरै नागरिक जोडिन थालेका छन्। नयाँ सोच र नयाँ राजनीतिक संस्कृतिको खोजीमा रहेका नागरिकका लागि यो एउटा आशाको विषय हो। तर परिवर्तनको बाटोमा आलोचना र विरोध पनि आउँछन्। कुनै पनि नयाँ विचार स्थापित हुँदै गर्दा प्रश्न उठ्नु स्वाभाविक हो। असहमति लोकतन्त्रको सुन्दर पक्ष हो। तर विचारको विरोध विचारबाट हुनुपर्छस गालीगलौज, चरित्रहत्या र अनावश्यक आरोपबाट होइन।
हामीले आलोचकलाई पनि शत्रुका रूपमा होइन, संवादका सहयात्रीका रूपमा हेर्न सक्नुपर्छ। आज विरोध गर्ने व्यक्ति पनि भोलि श्रम, उत्पादन र आत्मनिर्भरताको महत्व बुझेर यही अभियानमा जोडिन सक्छ। त्यसैले राजनीतिक संस्कार भनेको विरोधीलाई समाप्त पार्नु होइन, सही विचारमा सहमत गराउनु हो।
हाम्रो देश अरू कसैले आएर बनाइदिने होइन। नेपाल नेपालीले नै बनाउने हो। विदेशी सहयोग आवश्यक पर्दा लिन सकिन्छ, प्रविधि सिक्न सकिन्छ, विश्वसँग सहकार्य गर्न सकिन्छस तर देश निर्माणको मूल जिम्मेवारी आफ्नै काँधमा लिनुपर्छ। आफ्नै माटोमा पसिना बगाउने संस्कार विकास गर्नुपर्छ।
युवालाई रोजगारीका लागि विदेश पठाउने होइन, स्वदेशमै अवसर सिर्जना गर्ने नीति चाहिन्छ। गाउँका खेत बाँझो राखेर विदेशबाट खाद्यान्न आयात गर्ने होइन, कृषि उत्पादन बढाउनुपर्छ। उद्योग बन्द गरेर बेरोजगार बढाउने होइन, नयाँ उद्योग खोल्नुपर्छ। पढाइ सकेपछि जागिर खोज्दै भौँतारिने होइन, सीप, उद्यम र उत्पादनसँग जोडिने गरिखाने शिक्षा विकास गर्नुपर्छ।
अब नेपालको राजनीतिले पनि यही दिशामा आफूलाई रूपान्तरण गर्नुपर्छ। कुर्सी प्राप्त गर्ने राजनीति होइन, काम गरेर परिणाम देखाउने राजनीति आवश्यक छ। भाषणभन्दा श्रम, आश्वासनभन्दा उत्पादन र नाराभन्दा परिणाम ठूलो हुनुपर्छ।
त्यसैले आज एउटा प्रश्न आम नागरिकबीच उठिरहेको छ—अब देश बन्छ तरु मेरो विश्वास छ, देश अवश्य बन्छ। तर त्यो परिवर्तनको आधार श्रम, श्रमदान, उत्पादन, आत्मनिर्भरता र जिम्मेवार नागरिक सहभागिता हुनुपर्छ।
श्रम संस्कृति पार्टी र हर्कवादले यही बाटो देखाएको छ—आफ्नो माटोलाई माया गरौँ, आफ्नै देशमा श्रम गरौँ, उत्पादन गरौँ र नेपाल आफैँ बनाऔँ।
अबको अन्तिम विकल्प कुर्सीको राजनीति होइन, श्रमको राजनीति हो।
अबको अन्तिम विकल्प परनिर्भरता होइन, आत्मनिर्भरता हो।
अबको अन्तिम विकल्प गफ होइन, काम हो।
अबको अन्तिम विकल्प—श्रम संस्कृति पार्टी।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend