जन आकाश
काठमाडौ । २०८३ कार्तिक २४ गते मङ्गलवार रमेश विकल साहित्य प्रतिष्ठानको प्राङ्गण आरुबारीमा ९९ औँ विकल जयन्ती आयोजना गरियो ।
विकल चोक, आरुबारीमा अवस्थित रमेश विकलको अर्ध कदको प्रतिमामा माल्यार्पण लगत्तै रमेश विकल साहित्य प्रतिष्ठान भवन पुगेर संक्षिप्त स्मृति सभा को आयोजना सम्पन्न भएको थियो ।
काठमाडौँ उत्तर पूर्वी भेगका साहित्यकार, प्राध्यापक, समाजसेवी तथा स्थानीयको उपस्थितिमा सम्पन्न उक्त सभाको प्रमुख अतिथिका हैसियतमा बोल्दै गोकर्णेश्वर नगर पालिकाका नगर प्रमुख दिपक कुमार रिशालले, लेखकले समाज केलाउँछ- कृति छोड्छ, सरकारले ती सम्पत्तिहरूलाई अभिलेखीकरण गर्न सघाउँछ भन्दै विकलको योगदान तथा उहाँसँगको निकटता बारे चर्चा गरिएको थियो।
स्थानीय सरकार – गोकर्णेश्वर नगरपालिकाले विकलका ५२ कृति र छरिएका फुटकर रचनाहरू समेत समेटेर रमेश विकल समग्र खण्ड अन्तर्गत ७ खण्डमा सम्पूर्ण कृति र रचनाको एकीकृत अभिलेखीकरण गर्ने महत्त्वाकाङ्क्षी योजनाको अन्तिम ग्रन्थमा पुगेको समेत जानकारी दिएका थिए ।
महाकवि लक्ष्मी प्रसाद देवकोटा र रमेश विकलको तस्बिरमा माल्यार्पण गर्दै सुरु भएको उक्त सभाका प्रमुख वक्ता भाषा आयोगका माननीय सदस्य मातृका पोखरेलले समाजका भुइँमान्छे र तिनीहरूका उत्पीडनलाई केन्द्र बिन्दुमा राखेर प्रगतिशील लेखनमा विशिष्ट उँचाइ कायम गर्न रमेश विकल सफल रहनुभएको बताउनु भयो । साथै प्रगतिशील लेखक सङ्घले यस वर्षबाट शक्ति लम्सालको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट कीर्ति शेष विकललाई अर्पण गरिन लागेको समाचार समेत अवगत गराएका थिए।
कार्यक्रमका सभापति – रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति के के कर्माचार्य ले विकल सँगको कला क्षेत्रको सामीप्य, उक्त प्रतिष्ठानको संस्थापना काल देखिको योगदान र विकलका बहु प्रतिभाको स्मरण गर्दै उपस्थित सम्पूर्ण समुदायलाई आभार ब्याक्त गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका कोशाध्यक्ष शाम्बकुमार चालिसे र सञ्चालन आलोक चालिसेको रहेको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend