जन आकाश
– जयराम बिडारी
कार्तिक १९, काठमाडौँ
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा नेपाली साहित्य डटकम प्रतिष्ठानको साहित्योत्सव तथा शान्ति कविता उत्सव एवम् कृति लोकार्पण सम्पन्न गरिएको छ ।
बिहीबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष, सशक्त कवि एवम् निबन्धकार मोमिला जोशीको सभापतित्वमा रहेको थियो । उक्त समारोहका प्रमुख अतिथि पूर्व मन्त्री एवम् साहित्यकार शंकरप्रसाद कोइराला (एसपी कोइराला), पूर्व मुख्य सचिव विमल कोइरालाको विशिष्ट आतिथ्य तथा एनएलजी इन्स्योरेन्सका अध्यक्ष विमलप्रसाद वाग्लेको आतिथ्यमा सम्पन्न गरिएको थियो ।
सो समारोहमा मञ्चासिन व्यक्तित्वहरुले ‘कलाश्री’ साहित्यिक पत्रिकाको १४ औँ वार्षिक अङ्क लोकार्पण गरिएको थियो भने एनएलजी इन्स्योरेन्सका अध्यक्ष वाग्लेद्वारा माउस क्लिक गरी ई–पत्रिकाको लोकार्पण गरियो ।
कार्यक्रममा चीन: शाश्वत आवाज, नाइजेरिया: शाश्वत आवाज, स्लोभेनिया: शाश्वत आवाज र २५ नेपाली कविका कविताको स्लोभेनियाली भाषामा अनूदित कृतिको चिनियाँ सांस्कृतिक केन्द्रका उपनिर्देशक र स्लोभेनियाली कविहरूको उपस्थितिमा लोकार्पण गरियो ।
सम्बोधनका क्रममा कार्यक्रमका प्रमुख अतिथि एसपी कोइरालाले मोमिला जोशीको लामो समयको गहन साधनाको पुनर्मूल्यांकन गरिएको दिनको रूपमा आजको दिनलाई लिन सकिने बताए । उनले साहित्यिक साधनाले पाएको उपलब्धिलाई आजको यस भव्य समारोहले अनुमोदित मात्र गरेको नभई पुरस्कृत गरेको बताउँदै जोशीको आगामी दिनहरू साहित्यिक गतिविधिमा गुणात्मक सफलता प्राप्त गरून् भन्ने शुभकामना व्यक्त गरे । कोइरालाले कार्यक्रममा प्रतिष्ठित साहित्यकारहरुको भव्य,सभ्य उपस्थितिले समग्र कार्यक्रमको अनि सिर्जनाको उचाइ अझ बढाएको उल्लेख गर्दै यस्ता साहित्यिक गतिविधिले नेपाली साहित्य लगायत विदेशी साहित्यको रसास्वादनको अवसर देशदेशावरसम्म मिल्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनएलजी इन्स्योरेन्सका अध्यक्ष विमलप्रसाद वाग्लेले कम्पनिहरुको सामाजिक उत्तरदायित्व कार्यक्रम (सिएसआर) अन्तर्गत विभिन्न क्षेत्रमा गर्नुपर्ने सेवा मध्य साहित्य क्षेत्रमा सहयोग गरिरहेको बताए । उनले एआईको प्रभावबाट सक्कली र नक्कली रचना छुट्याउन कठीन नहोस् भन्दै नेपाली साहित्यलाई पनि विभिन्न भाषामा अनुवाद गरी अन्तरराष्ट्रिय स्तरमा पुर्याउन जोड दिए । अध्यक्ष वाग्लेले एनएलजी इन्स्योरेन्सले प्रतिष्ठानमार्फत विगत दुई दशकदेखि निरन्तर गर्दै आएको योगदानको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग निरन्तरताको वचनवद्धता व्यक्त गरे ।
उक्त अवसरमा विशिष्ट अतिथि विमल कोइरालाले नेपाली भाषा-साहित्यको क्षेत्रमा प्रतिष्ठानको भूमिका अनुकरणीय रहेको बताउँदै यसको निरन्तरताको कामना गरे ।
उक्त अवसरमा ‘शान्ति कविता गोष्ठी’ अन्तर्गत करिब डेढ दर्जन कविहरूले विश्व शान्तिको कामना गर्दै कविता वाचन गरे । सोही अवसरमा कवि दिनेश अधिकारीले ‘कवितामा जन्मने गरेको छु’ शीर्षकीय कविता, स्लोभाकियान कवि ब्राने मोजेटिच्जको कविता लाई केशव सिग्देलले नेपालीमा अनुवाद गरि सुनाएका थिए । यसैगरी स्लोभाकियन कवि ब्लाच बोजिचको कवितालाई बलबहादुर थापाले नेपालीमा अनुवाद गरी सुनाए भने कवि भेरोनिका राजपोत्निकको रचनालाई मोमिला जोशीले नेपालीमा अनुवाद गरि सुनाइन् ।
यसैगरी कवि लक्ष्मण गाम्नाङगेका ‘लैजा चरी हावा सरी यो चिठीको जवाफ आउनेगरी’ शीर्षकीय कविता,हेमचन्द्र नेपालको ‘शान्तिका दिव्यदूत’ अनिता लामाका ‘आगोको फूल’ राजेन्द्र सलभको ‘पुग्न बाँकी छ’ वद्री पोखरेल ‘प्रकृति’ गीता कार्की ‘फरक’ कृष्ण डीसी ‘ मेरो माटो’ डा.विप्लव ढकाल ‘वृद्धाश्रमको कथा’ फूलमान बल ‘पातहरु’ बाबु त्रिपाठीको राजधानी एक्सप्रेस’ रजनी मिलाले ‘छुटेको मन’ शीर्षकीय कविता सुनाइएका थिए ।
कार्यक्रममा ‘एनएलजी कलाश्री सिर्जना पुरस्कार’ कोहलपुरका कवि प्रदीप भट्टराईलाई र ‘नेपाल सम्मान २०२६’ स्लोभेनियाली कवि ब्राने मोजेतिच्जलाई प्रदान गरिएको थियो । सम्मानित कवि भट्टराईले ‘एनएलजी कलाश्री सिर्जना पुरस्कार’ बाट पुरस्कृत हुन पाएकोमा आभार व्यक्त गर्दै ‘नम्बर’ शीर्षकीय कविता वाचन गरे । त्यस्तै, स्लोभेनियाली कविहरू ब्राने मोजेतिच्ज र ब्जाज बोजिच्जले दुई देशबीचको साहित्यिक गतिविधि र सहकार्य अनि सिर्जनात्मक प्रयासको खुलेर प्रशंसा गरे ।
कार्यक्रममा चीनियाँ कलाकेन्द्रका अध्यक्ष लिउचान पिउले चार देशको साहित्यिक विमर्शका लागि यस्ता कार्यक्रमले सघाउ पुर्याउने बताउँदै कविता श्रवणले यौवन बढाएको जस्तो लाग्ने धारणा व्यक्त गरे । उनले साहित्यिक गतिविधिका यस्ता कार्यक्रममा सदैव सहकार्य भइरहोस् भन्ने विचार व्यक्त गरे । सोही अवसरमा उनकी धर्मपत्नीले समेत कविता वाचन गरिन् ।
प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीले एनएलजीसँगको दुई दशक लामो सहकार्यप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा यो सहयोग अझ वृद्धि हुने आशा व्यक्त गरिन् । उनले प्रतिष्ठानको नियमित र सार्थक सक्रियता नै यसको पहिचान भएको उनले बताइन् । मणि लोहनीद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा साहित्यकार तथा साहित्यानुरागीहरुको बाक्लो उपस्थिति थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend