logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

सुसेलीको लक्ष्मी जयन्ती एवम् देउसी भैलो कार्यक्रम  सप्पन्न


  • जन आकाश
  • आइतबार, कार्तिक २३ २०८३

काठमाडौ । राष्ट्रिय सुसेली फाउन्डेसनले यही २०८३ कात्तिक २० गते शुक्रबार पचासीयौं अनलाइन कार्यक्रममा आउँदै गरेको तिहार पर्व एवम् लक्ष्मी जयन्ती विशेष सुसेली गायन र वाचनको कार्यक्रम सम्पन्न गरेको छ ।



सुसेली फाउन्डेसनका संस्थापक केन्द्रीय अध्यक्ष एवम् सुसेली विधाका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेको संयोजन एवम् सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाकी संस्थापक केन्द्रीय उपाध्यक्ष सुशीला ढकाल अधिकारीले गरेकी थिइन ।

आउँदै गरेको तिहारको शुभकामना एवम् लक्ष्मी जयन्ती विशेष सुसेली गायन र वाचन कार्यक्रममा सरिक १६ जना कवि साहित्यकारहरूले त्रिपदीय नेपाली लोकलय, पुर्वीय, पश्चिमी, भजन र दोहोरीका लयमा  रचना गरी तिहार पर्वको महत्त्व, महिमा, महाकवि लक्ष्मीप्रसाद देवकोटामा श्रद्धाञ्जलि, देवकोटाका विषयमा परिचर्चाका साथै यो वर्षको अविरल वर्षका कारण हुनगएको धनजनको क्षतिले पर्व मान्न सहज नहुने अवस्थाका विषय र पर्व मनाउँदा हुने दुःखद क्षणको आँकलनसहित समसामयिक एवम व्यङ्ग्यात्मक सुसेलीहरू गाएका थिए।

कार्यक्रममा विशिष्ट अतिथि संस्थाकी संरक्षक एवम् संस्थापक केन्द्रीय सल्लाहकार साहित्यकार चन्द्रा न्यौपानेले आफू सुसेलीप्रेमी भएको नाताले सुसेलीको संरक्षण, संवर्द्धन र परिमार्जन गर्दै यो विधालाई व्यापक बनाउन जे जस्तो आफूले सकेको सहयोग गर्दै अगाडि बढिरहेको बताएकी थिइन।

उनले लघुविधा सुसेली लेख्न सजिलो भए पनि सत्र अक्षरमा गहन, भावपूर्ण, सन्देशमूलक एउटा महाकाव्य नै तयार गर्न सकिने भएकाले अत्यन्तै सावधानीपूर्वक कलम चलाउनु पर्ने कुरमा ध्यान जानुपर्ने बताइन।

यसैगरी उनले सबै साहित्यिक विधाहरू एकजुट भएर नेपाली साहित्यको सेवा गर्नुपर्छ भन्दै तिहार पर्व एवम् लक्ष्मी जयन्ती सम्बन्धी आफ्ना केही सुसेलीहरू लोकलयमा गाएकी थिइन।

अर्का विशिष्ट अतिथि कलानिधि दाहालले कार्यक्रममा पूरै समय दिएर सबैका सुन्दर तथा गहन सुसेलीहरू सुन्न पाउँदा खुसी लागेको र सुसेलीले लोभलाग्दो किसिमले प्रगति गरिरहेको भए तापनि सजिलो किसिमले मात्रै सुसेली नहुने, भाव र गम्भीरताको ख्याल राखेर विभिन्न रसमा सुसेली लेख्न सबैलाई सुझावसहित बधाई एवम् सहयोगी र सहभागीहरूमा आउँदै गरेको तिहारको शुभकामना दिँदै शुभकामनाका साथै लक्ष्मी जयन्ती सम्बन्धी आफ्ना सुसेलीहरू लयमा गाएर सुनाएका थिए।

यसैगरी अर्का विशिष्ट अतिथि संस्थाका संस्थापक केन्द्रीय सल्लाहकार वरिष्ठ कवि डा. बमबहादुर थापा जितालीले सुसेली परिवार लगायत सम्पूर्ण नेपाली साहित्यमा कलम चलाउने स्रस्टामा तिहारको शुभकामना र महाकवि लक्ष्मीप्रसादलाई सम्झना गर्दै आफूले रचना गरेका व्यङ्ग्यात्मक सुसेलीहरू गाएका थिए।

कार्यक्रमका सभापति भमरकोटेले यसरी तीनजना विशिष्ट अतिथिसहित १६ जना अतिथि कवि साहित्यकारहरूलाई कार्यक्रममा स्वागत गर्न पाएकामा आफूलाई अत्यन्तै खुसी लागेको र विशिष्ट अतिथिज्यूहरूबाट सुसेली उपविधाका लागि अत्यन्तै अनुकरणीय शिक्षाप्रद उपयोगी भनाइहरू प्राप्त भएको बताउउदै । उनले अमेरिकन दसैं (थ्याङ्स् गिभिङ) र तिहार (क्रिसमस) को प्रसङ्ग उस्तैउस्तै भएको जानकारी दिँदै कार्यक्रमलाई भव्य, सभ्य एवम् रम्य रूपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए। उनले कार्यक्रममा सहभागी हरेक अतिथि कविहरू सुरेशचन्द्र घिमिरे, जानुका थापा रायमाझी, लक्ष्मीप्रसाद मिश्र, ध्रुवराज थापा पुरुष, चेवन बस्नेत, सुधा बाँस्कोटा ढकाल, धरणिधर गुरागाईं, घनश्याम पौडेल, विमल अर्याल र चन्द्रावती अधिकारीलगायतको नाम उच्चारण र प्रशंसासमेत गर्नुभयो । अन्त्यमा उहाँले महाकवि लक्ष्मीप्रसाद तिहार सम्बन्धी शुभकामना विशेष सुसेलीहरू लोकलयमा प्रस्तुत गरी कार्यक्रमको समापन गरेका थिए।

हाम्राे चाहना
तिहारको सबैमा
शुभकामना !२!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend