जन आकाश
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार कोसी, नारायणी र तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। यस्तै, बागमती, पश्चिम राप्ती र बबई नदीमा जलसतह बाढी सतर्कता तह नजिक पुगेको छ। महाशाखाले आगामी तीन दिनको बाढी पूर्वानुमानका आधारमा पहेँलो र सुन्तला रङमा राखिएका नदी किनार तथा आसपासका जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
आज ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, दाङ, अर्घाखाँची, रुकुमपूर्व, रुकुमपश्चिम, प्युठान, रोल्पा, सल्यान, जुम्ला, कालीकोट, दैलेख, बाजुरा, अछाम, बझाङ, दार्चुला र बैतडी तथा आसपासका क्षेत्रमा ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। यी क्षेत्रमा ‘यलो अलर्ट’ जारी गरिएको छ।
यस्तै, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, डोल्पा, जाजरकोट, रूपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला र डडेल्धुरा तथा आसपासका क्षेत्रमा ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको भन्दै ‘अरेन्ज अलर्ट’ जारी गरिएको छ। महाशाखाले जोखिमयुक्त क्षेत्रमा नदी तथा खोलानालाको आसपास नजान र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend