जन आकाश
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र लेदोका कारण गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार राष्ट्रिय राजमार्गसहित १६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्। सिद्धार्थ राजमार्ग, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बेनी–जोमसोम र जोमसोम–कोरोला सडकखण्ड समेत ठप्प भएका छन्।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ कालोभिरमा लगातार ढुङ्गा खस्दा सडक अवरुद्ध भएको छ। लो–घेकर दामोदरकुण्ड–२ सेल्फीडाँडामा लेदोसहितको भेल आएपछि जोमसोम–कोरोला सडक बन्द भएको छ। थासाङ–४ काप्रेभिरमा ढुङ्गा र लेदोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड पनि अवरुद्ध छ।
मनाङको नासो–३ खोत्रोमा पहिरो गएपछि चामे–बेँसीसहर सडक बन्द भएको छ। म्याग्दीको बेनी–४ घुमाउने भिरमा पहिरो खस्दा बेनी–दरबाङ सडक अवरुद्ध छ। रघुगंगा–२ बैसरी र अन्नपूर्ण–३ सुकेबगरमा पहिरो जाँदा बेनी–जोमसोम सडकखण्डसमेत प्रभावित भएको प्रहरीले जनाएको छ।
त्यस्तै, बागलुङको निसिखोला–४ कानाबगरमा पहिरोले मध्यपहाडी लोकमार्ग तथा जैमिनी–८ बेलबगरमा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। पर्वतको जलजला–८ फर्से र लस्तिमा रुख ढलेपछि बेनी–बागलुङ सडक दुवैतर्फ बन्द भएको छ।
कास्कीको अन्नपूर्ण–८ स्याउलीबजारमा मोदी खोलाको बहाव बढेर सडक कटान गरेपछि नयाँपुल–घान्द्रुक सडक फेरि अवरुद्ध भएको छ। यसअघि पनि सडक बगेपछि लामो समय मर्मत गरेर अस्थायी रूपमा यातायात सञ्चालन गरिएको थियो। रुपा–३ खाल्टे खोलामा पानीको बहाव बढेपछि पोखरा आउने भित्री सडकसमेत बन्द भएको छ।
स्याङ्जाको गल्याङ–१ मालुङ्गामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। तनहुँको ऋषिङ–८ मा पहिरोका कारण श्रृङ्गगापथ मार्ग प्रभावित भएको छ। नवलपुरको हुप्सेकोट–४ पाङ्ग्रोमा पहिरो जाँदा दलदले–पाल्पा सडक तथा बुलिङटार–६ घुमाउरीघाटमा लेदोसहितको पहिरो खस्दा कालीगण्डकी करिडोर बन्द भएको छ।
अवरुद्ध सडक खुलाउन सुरक्षा निकायको टोली परिचालन भए पनि लगातार वर्षा र पहिरो खसिरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। प्रशासनले मौसममा सुधार नआएसम्म विपद् जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend