जन आकाश
काठमाडौं । अविरल वर्षापछि रोशी खोलाले बगाएको बीपी राजमार्गको क्षतिग्रस्त स्थानमा अस्थायी डाइभर्सन निर्माण सुरु गरिएको छ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार वर्षाका कारण रोशी खोलामा आएको बाढीले नमोबुद्ध नगरपालिका–६ को चौकीडाँडा, रोशी गाउँपालिका–७ को घुमाउने तथा रोशी–११ र १२ का तीन स्थानमा निर्माण गरिएका अस्थायी डाइभर्सन बगाएको थियो।
राजमार्गमा तत्काल यातायात सञ्चालन सहज बनाउने उद्देश्यले डाइभर्सन पुनर्निर्माणको काम अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ।
यसैगरी, बीपी राजमार्गअन्तर्गत रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो पन्छाउने काम भइरहेको प्रमुख योगेशले जानकारी दिए।
अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडकखण्डमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend