logo शनिबार, असोज १० २०८३ | Saturday 26th September 2026

जलवायु संकट सम्बोधनका लागि नेपालद्वारा अन्तर्राष्ट्रिय समुदायसमक्ष पाँचबुँदे प्रस्ताव


  • जन आकाश
  • शनिबार, असोज १० २०८३

काठमाडौं । हिमालदेखि समुद्रसम्मको जलवायु जोखिमबीचको पारिस्थितिक सम्बन्धलाई स्वीकार गर्दै नेपालले जलवायु संकट सम्बोधनका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष पाँचबुँदे प्रस्ताव अघि सारेको छ।



परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपालले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म : जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ विषयक उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गर्दै यस्तो प्रस्ताव अघि सारेको हो। भोटेकोसीमा आएको विनाशकारी बाढीपछि नेपालले उक्त कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले हिमाल, नदी, समुद्र तथा तटीय र द्वीपीय क्षेत्र परस्पर जोडिएको पारिस्थितिक प्रणाली भएकाले जलवायु संकटलाई राजनीतिक सीमाभन्दा बाहिर राखेर सम्बोधन गर्नुपर्ने बताए। पछिल्ला तीन दशकमा नेपालले आफ्नो हिम क्षेत्रको करिब एकतिहाइ हिस्सा गुमाइसकेको उल्लेख गर्दै उनले हिमनदीको ह्रासले नदीको बहावमा परिवर्तन ल्याई तल्लो तटीय क्षेत्रको जनजीवनमा असर पारिरहेको बताए।

जलवायु संकट सम्बोधनका लागि मन्त्री खनालले विज्ञान, नीति र लगानीमा हिमाल, ताजा पानीका प्रणाली र महासागरबीचको सम्बन्धलाई प्राथमिकता दिनुपर्ने, विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्यअनुसार उत्सर्जन कटौती तीव्र बनाउनुपर्ने प्रस्ताव अघि सारे।

त्यस्तै, प्रारम्भिक चेतावनी प्रणाली, उत्थानशील पूर्वाधार, पूर्वानुमानमा आधारित अग्रिम कार्य र वैज्ञानिक सहकार्य सुदृढ गर्न तथा विकासशील मुलुकका लागि पर्याप्त र सहज पहुँचयोग्य जलवायु वित्त, प्रविधि र क्षमता विकास सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।

नेपालले ‘सगरमाथादेखि समुद्रसम्म’ अवधारणालाई ज्ञान, साझेदारी र व्यावहारिक सहकार्यको मञ्चका रूपमा विकास गर्न चाहेको मन्त्री खनालले बताए। हिमनदीबाट निस्कने पानी नदी हुँदै समुद्रसम्म पुग्ने भएकाले हिमालदेखि समुद्रसम्मको जलवायु जोखिमलाई एकीकृत रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend