जन आकाश
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को ११औँ वार्षिक बैठकमा सहभागी हुन शनिबार साँझ कतार प्रस्थान गरेका छन्।
मन्त्री वाग्ले कतार एयरवेजको नियमित उडानबाट साँझ ७ बजे दोहा प्रस्थान गरेका हुन्। उनीसँग अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी छन्।
दोहामा हुने बैठकमा वाग्लेले एआईआईबीको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउनेछन्। बैठकमा नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका प्राथमिकताबारे छलफल गर्ने कार्यक्रम रहेको छ।
नेपालका प्राथमिकताका क्षेत्रमा बहुपक्षीय सहयोग तथा लगानी परिचालनका विषयमा समेत वाग्लेले छलफल गर्ने अर्थ मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा वाग्लेले एआईआईबीका अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
वार्षिक बैठक तथा द्विपक्षीय भेटवार्ता सम्पन्न गरी वाग्ले नेतृत्वको टोली असोज १४ गते बुधबार कतार एयरवेजकै उडानबाट नेपाल फर्किनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend