logo बिहिबार, असोज १५ २०८३ | Thursday 1st October 2026
logo

बिहिबार, असोज १५ २०८३ | Thursday 1st October 2026

धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संसद्मा पेश गर्न अर्थ समितिको निर्देशन


  • जन आकाश
  • बुधबार, असोज १४ २०८३

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय संसद्मा पेश गर्न सरकारलाई निर्देशन दिएको छ।



सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पूँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र लगानीकर्ताको हित संरक्षण गर्ने गरी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको भूमिका तथा जवाफदेहिता स्पष्ट हुने गरी नयाँ विधेयक संसद्मा पेश गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।

बैठकले कम्पनीको प्राथमिक सेयर निष्कासन अनुमति दिनुअघि पूँजी पर्याप्तता, प्रविधि, नेटवर्थ, वासलात र प्रतिफलका आधारमा स्तरीकरण तथा प्रमाणीकरण गर्न पनि धितोपत्र बोर्डलाई निर्देशन दिएको छ। साथै, संस्थापक सेयरधनीले धारण गर्नुपर्ने स्वामित्वसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न भनिएको छ।

नेप्सेको अनलाइन ट्रेडिङ प्रणाली तथा डेटा प्रणालीमा समय–समयमा आउने अवरोधका कारण लगानीकर्ता र सरकारी राजस्वमा समेत असर परेको भन्दै समितिले प्रविधिको स्तरोन्नति र साइबर सुरक्षालाई मजबुत बनाउन अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेलाई निर्देशन दिएको छ।

त्यस्तै, दोस्रो बजारमा हुने मिलेमतोपूर्ण कारोबार, आपूर्ति नियन्त्रण, कृत्रिम अभाव वा माग सिर्जना गरी मूल्य बढाउनेलगायतका विकृति रोक्न सघन निगरानी गरी संलग्न व्यक्ति वा कम्पनीलाई तत्काल कारबाही गर्न बोर्ड र नेप्सेलाई निर्देशन दिइएको समिति सभापति कृष्णहरि बुढाथोकीले बताए।

बैठकले नेप्से र सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा लामो समयदेखि रिक्त रहेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पदपूर्ति प्रक्रिया तत्काल अघि बढाउन पनि अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend